फिल्म ‘प्रकाश’प्रदर्शनका बेला बोर्ड अध्यक्ष भुवनलाई थर्काएका प्रदीपले यस पटक डिसीलाई पाठ पढाए

फिल्म ‘प्रकाश’प्रदर्शनका बेला बोर्ड अध्यक्ष भुवनलाई थर्काएका प्रदीपले यस पटक डिसीलाई पाठ पढाए

काठमाडौँ : अभिनेता प्रदीप खड्का फिल्म ‘प्रकाश’को प्रदर्शनका समयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति खनिएका थिए। यसको कारण शोकै लफडा थियो।

बोर्डका कारण आफ्नो फिल्मले शो नपाएको भन्दै भुवन केसीसँग रुष्ट मात्रै बनेनन् उनले राजीनामै मागे। राष्ट्रिय चलचित्र पुरस्कारमा पनि उस्तै नोकझोक भयो यी दुवैको। त्यतिबेला बोर्ड नेतृत्वको कडा आलोचक बनेका प्रदीप आइतबार भने बोर्डका अध्यक्षलाई सल्लाह र सुझावमा समय खर्चिए।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करणको कार्यक्रममा उनले बोर्डका अध्यक्ष दिनेश डिसीका अगाडि नेपाली फिल्म किराना पसल शैलीमा चलेको र पारिवारिक बिजनेसजस्तो भइरहेको टिप्पणी गरे। उनले आफ्नो गुरु मानेका बोर्डका अध्यक्ष डिसीसँग मजाक गर्दै नेपाली फिल्ममा आमा निर्देशक, बुबा निर्माता, छोराछोरी हिरो–हिरोइन बनिरहेको भन्दै झटारो हानेका थिए।

उनले झटारो भुवन केसीदेखि झरना थापासम्मलाई थियो। अलिक हतारिएर बोलेका प्रदीपले आमा निर्देशक,बुबा प्रोड्युसर र छोराछोरी हिरोइन हुँदा फिल्म क्षेत्र किराना पसल जस्तो भएको तर्क गरे। उनको कुरा सुनेका डिसी मुसुमुसु हाँसिरहे।

‘आजसम्म नेपाली फिल्म फेमिली बिजनेसजस्तो भइरहेको छ। त्यो पनि किराना पसल शैलीको,’उनले डिसीलाई हेर्दै भने,‘१० बजेसम्म बुबा पसलमा बस्ने। १० बजे सन्तान स्कुल गएपछि आमा पसलमा बस्ने। ३-४ बजे सन्तान फर्किएपछि उनीहरू पसलमा बस्ने अनि आमा घर भान्सा गर्न जाने जस्तो शैलीमा नेपाली फिल्म चलिरहेको छ। आमा निर्देशक, बुबा प्रोड्युसर, छोराछोरी हिरो–हिरोइन।’ 

उनको कुरा सुनेका अधिकांशले हलमा हाँसो थाम्न सकेनन्। उनको तर्क सुनेका अधिकांशले भुवन केसी,झरना थापा,करिश्मा मानन्धर लगायतलाई झटारो हो भन्दै थिए।

हलमा हाँसो गर्जिएपछि उनी झन् जोसिए। उनले आफ्नै फिल्म प्रदर्शन गर्दाको क्षणको पल समेत उक्काउन भ्याए।

हलमा उनको फिल्म ‘प्रकाश’ले दर्शक तान्न नसकेपछि हलवालाले शो घटाएका थिए। त्यतिबेलाको कुरा सम्झँदै उनले भने ‘हामीले ‘प्रकाश’को बेला शो पाएनौ भनेर धेरै भन्यौँ। यो समस्या समाधान गर्न एउटा पोलिसी बनाउन जरुरी छ। कोटा सिस्टम हाम्रो नेपालमा धेरै छ। ३०-३५ प्रतिशत स्क्रिनमा शुक्रवार र शनिवार नेपाली फिल्मलाई आरक्षण गर्ने हो भने तीन वटा स्क्रिन भएको ठाउँमा नेपाली फिल्मले एउटा स्क्रिन अनिवार्य पाउँछ।’

मंसिर २४, २०८१ सोमबार २३:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।