फिल्म ‘दुखी आत्मा’मा श्रवण मुकारुङका १० कविता

काठमाडौं : ३ महिनाअघि ‘राई माइलाले गाउँ छोड्यो रे’ भन्ने बोलको गीत जनजिब्रोमा झुण्डियो। फिल्म ‘गाउँ आएको बाटो’मा समावेश यो गीतले गाउँ शहर सबैतिर गुञ्जामान बनायो। यसैका गीतकार तथा कवि श्रवण मुकारुङका कविता पनि अब फिल्ममा सुन्न पाइने भएको छ।
आगामी फागुन २ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’मा कवि मुकारुङका विभिन्न शीर्षकका १० वटा कविता दर्शकले सुन्न पाउने भएका छन्। दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुखी आत्मा’को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र समावेश गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
निर्देशक लामाका अनुसार कथा अनुसार मुकारुङका कविता राखिएको बताए।
उनले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ। पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो।’
‘माथि माथि शैलुङुगेमा’, ‘तिमी तारेभीर’लगायत चर्चित गीत लेखेका रचनाकार मुकारुङ फिल्म ‘दुखी आत्मा’मा फुलटाइमर कविका रुपमा आबद्ध भएका छन्।
उनले फिल्मका माध्यमबाट दर्शकमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक रहेको बताए।
मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’का मुख्य कलाकार दयाहाङ राईमाथि प्रस्तुत गरिएको निर्देशन लामाले बताएका छन्।
फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई लगायतका कलाकारहरूको मुख्य भूमिका छ।
निर्देशक लामाले नै लेखेको यो फिल्मलाई आलोक शुक्लाले खिचेका छन् भने आरआर फिल्मस्ले वितरण गर्दैछ।
यसअघि फिल्म ‘मन्सरा’मा पनि एक कविता राखिएको थियो।
मंसिर २४, २०८१ सोमबार २१:१८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।