बोर्ड अध्यक्षका रूपमा भुवन केसीलाई थर्काएका प्रदीपले अहिलेका अध्यक्ष दिनेश डिसीलाई सुझाव दिए

बोर्ड अध्यक्षका रूपमा भुवन केसीलाई थर्काएका प्रदीपले अहिलेका अध्यक्ष दिनेश डिसीलाई सुझाव दिए

काठमाडौं : आफ्नै भनाइमा आलोचना खेप्ने कलाकारमध्ये एक हुन् प्रदीप खड्का। फिल्म ‘प्रकाश’को प्रदर्शनका समयमा तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति खनिएका थिए। त्यसबेला उनी बोर्डका कारण आफ्नो फिल्मले शो नपाएको भन्दै भुवन केसीसँग रुष्ट मात्रै बनेनन्, राजीनामा नै मागे। त्यतिबेला बोर्डको कडा आलोचना गरेका प्रदीपले भुवनपछिका बोर्ड अध्यक्षलाई सल्लाह र सुझाव दिनमै समय खर्चिए।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करणको कार्यक्रममा उनले बोर्डका वर्तमान अध्यक्ष डिनेश डिसीका अगाडि नेपाली फिल्म किराना पसल शैलीमा चलेको र पारिवारिक बिजनेशजस्तो भइरहेको बताए। 

आफूले आफ्नो गुरू मानेका चलचित्र विकास बोर्डको अध्यक्ष डिसीलाई प्रदीपले हास्दै नेपाली फिल्म आमा निर्देशक, बुबा निर्माता, छोराछोरी हिरो-हिरोइन बनिरहेको भन्दै झटारो हाने। उनको कुरा सुनेका डिसी मुसुमुसु हाँसिरहे। 

उनको झटारो भुवन केसीदेखि झरना थापासम्मलाई थियो। 

‘आजसम्म नेपाली फिल्म फेमिली बिजनेशजस्तो भइरहेको छ। त्यो पनि किराना पसल शैलीको,’ उनले डिसीलाई हेर्दै भने, ‘१० बजेसम्म बुबा पसलमा बस्ने। १० बजे सन्तान स्कूल गएपछि आमा पसलमा बस्ने। ३/४ बजे सन्तान फर्किएपछि उनीहरू पसलमा बस्ने अनि आमा घरभासा गर्न जाने जस्तो शैलीमा नेपाली फिल्म चलिरहेको छ। आमा निर्देशक, बुबा प्रोड्युसर, छोराछोरी हिरो-हिरोइन।’  

उनको कुरा सुनेका अधिकांशले हलमा हाँसो थाम्न सकेनन्। उनको तर्क सुनेका अधिकांशले भुवन केसी, झरना थापा, करिश्मा मानन्धर लगायतलाई झटारो हो भन्दै थिए। बल्ल-बल्ल बोल्न आएको, त्यो पनि माइकका अगाडि प्रदीपले आफ्नो भनाइ रोक्ने कुरै गरेनन्। हलमा हाँसो गञ्जिएपछि उनी झन् जोसिए। 

हलमा उनको फिल्म ‘प्रकाश’ले दर्शक तान्न नसकेपछि हलवालाले शो घटाएका थिए। त्यतिबेलाको कुरा सम्झँदै उनले भने तीन वटा हल भएको ठाउँमा एउटा फिल्म हलमा नेपाली फिल्म चलाउन अनिवार्य रहेको दाबी गरे। 

उनले भने, ‘हामीले ‘प्रकाश’को बेला शो पाएन भनेर धेरै भन्यौं। यो समस्या समाधान गर्न एउटा पोलिसी बनाउन जरुरी छ। कोटा सिस्टम हाम्रो नेपालमा धेरै छ। ३०/३५ प्रतिशत स्क्रिनमा शुक्रबार र शनिबार नेपाली फिल्मलाई आरक्षण गर्ने हो भने तीनवटा स्क्रिन भएको ठाउँमा नेपाली फिल्मले एउटा स्क्रिन अनिवार्य पाउँछ।’

फिल्म ‘पुजार सार्की’पछि उनले कुनै पनि फिल्ममा काम गरेका छैनन्। अहिले कुन फिल्ममा काम गर्दै हुनुहुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले बन्न लागेको फिल्म ‘ऐरी’मा रहेको बताए। उनका अनुसार यो फिल्ममा उनी ६/८ महिना समय लाग्ने छ। 

किफको दोस्रो संस्करणको प्रबर्द्धन दूतको रुपमा आयोजकले प्रदीप खड्का र सुरक्षा पन्तलाई नियुक्त गरेको छ। प्रदीपले फिल्म ‘प्रकाश’ र सुरक्षाले ‘बुलाकी’मार्फत कर्णाली चिनाएको हुनाले उनीहरुलाई नियुक्त गरिएको चक्रबहादुर चन्दले जानकारी दिए। 

‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित गर्न लागिएको महोत्सवमा प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वपूर्णलाई देश र विदेशमा फैलाउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको निर्देशक चक्रबहादुर चन्दको भनाई थियो। 

मंसिर २४, २०८१ सोमबार २१:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।