५० करोड ग्रस कलेक्सन हुँदा पनि पूर्णबहादुरको सारङ्गीको निर्माता अझैँ नयाँ फण्डामा

काठमाडौँ : फिल्म पूर्णबहादुरको सारङ्गीले नेपालभित्र र बाहिर गरेर ५० करोड ग्रस कलेक्सन गरेर रेकर्ड राख्यो। कात्तिक १५ मा रिलिज भएको यो फिल्म मंसिर अन्तिम पुग्दा पनि हलमा टिकेकै छ। तै पनि यसका निर्माताले भने शो सङ्ख्या नपाएको भन्दै सोमबारबाट हलहरूबाट फिल्म उतार्ने चेतावनी दिए।
भारतीय फिल्म पुष्पा २ रिलिज भएसँगै हलका अधिकांश शो यो फिल्मले पायो। पूर्णबहादुरको सारङ्गीपछि रिलिज भएर दर्शकबाट राम्रै प्रतिक्रिया पाएको ह्रस्व दीर्घ अनि तेल भिसाका सोहरू स्वातसुत घट्यो। त्यसमा पूर्णबहादुरको सारङ्गीको पनि शो सङ्ख्या घट्यो नै।
अनि निर्माता कम्पनीले विज्ञप्ति निकालेर फिल्म चलिरहेकै अवस्थामा पनि नगण्य शो पाएको र पाएका शो पनि अफटाइममा पाएको, थोरै सिट क्षमता भएका स्क्रिन दिएको भन्दै सोमबारबाट हलबाट फिल्म उतार्ने चेतावनी दिए।
निर्माण कम्पनीको चेतावनीले काम गरेन। हलले जति शो दिइरहेका छन् त्यसैलाई कायम गरे। चेतावनीले काम नगरेपछि निर्माण टिम फिल्म नउतार्ने निर्णयमा पुगे।
उनीहरूको तर्क अनुसार वितरक र प्रदर्शकसँग भएको सहमतिमा निर्माण कम्पनीले चाहेको बेलामा फिल्म हलबाट उतार्न नसक्ने सर्त रहेको बताए।
यस्तो सर्त थियो भने हतारमा विज्ञप्ति निकाल्नुको अर्थ के? वितरक कम्पनी अनि प्रदर्शकसँग कुन सर्तमा फिल्म रिलिज गरेको हो त्यति पनि थाहा थिएन निर्माताहरुलाई?
अति भयो भने खती हुन्छ नै। फिल्मको बम्पर सफलतापछि पूर्णबहादुरको सारङ्गीको निर्माताहरूमा पनि यही अतिवादी सोच पलाएको देखियो है विज्ञप्तिले।
मंसिर २३, २०८१ आइतबार २१:०८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।