निर्माताको दबाबमा बन्द भएको रियल टाइम बक्स अफिस रिपोर्ट वैशाख १ बाट आउने डिसीको दाबी

काठमाडौं चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले वैशाख एकबाट रियल टाइम बक्स अफिस सिस्टम लागु हुने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्।
बोर्डले बक्स अफिस सिस्टम लागु गरेर कुन फिल्मले कति व्यापार गर्यो भनेर सार्वजनिक गर्दै आएको थियो। तर फिल्म निर्माताहरुले आफ्नो फिल्मको व्यापार सार्वजनिक गरिदिएको भन्दै गुनासो गरेपछि भुवन केसीले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न रोकिदिए।
बोर्डले व्यापारको आँकडा सार्वजनिक गर्न छाडेपछि फिल्म निर्माण टिमले दर्शकलाई प्रभावित पार्न आफूखुसी ग्रस कलेक्सन यति भन्दै सार्वजनिक गरिरहेका छन्। फिल्मको व्यापारलाई पारदर्शी बनाउन भन्दै बोर्डमा रियल टाइम बक्स अफिस सिस्टम सञ्चालनमा थियो।
उनले सोही कार्यक्रममा कर नतिर्ने हलहरू करको दायरामा आएको दाबी समेत गरेका थिए।
पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हल मध्ये प्रमुख ६ वटा हलमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हल करको दायरा र नियममा आएको उनले बताए।
मंसिर २३, २०८१ आइतबार १९:०४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।