बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि चार दिने भ्रमण सकेर स्वदेश फर्कँदै ओली

बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि चार दिने भ्रमण सकेर स्वदेश फर्कँदै ओली

काठमाडौं : चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं फर्कने कार्यक्रम छ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्।

दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन्।

यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ। यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन्। सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उहाँहरूबीच कुराकानी भएको जनाइएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन्। यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ।

प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए।

प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए।

मंसिर २०, २०८१ बिहीबार ०७:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।