दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो एनपीएलकै ठूलो लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ।
एनपीएलमा यो अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन जोड्यो।
उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। २४ बलको सामना गरेका उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन जोडे।
त्यसअलावा ब्रान्डन म्याकमलनले ३६, विनोद भण्डारीले २३, इसान पाण्डेले २१, सैफ अली जैबले १४ र स्कट कुग्गेलेजिनले १० रन जोडे।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरका लागि अनिल खरेलले तीन तथा बसीर अहमद, इस्मात आलम र क्रिस सोलले समान एक–एक विकेट लिए।
विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। सुदूरपश्चिम आज पहिलो खेल खेल्दैछ।
मंसिर १८, २०८१ मंगलबार १०:५१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।