टी-२० ब्लाइन्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं : पहिलो पटक टी-२० ब्लाइन्ड क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित भएको छ।
मुल्तानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १० विकेटले पराजित हुँदै फाइनल खेल्ने सपनाबाट एक कदम टाढा भएको हो।
आज बिहान भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले ५.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो।
पाकिस्तानका लागि कमरान अख्तरले ६३ रन बनाउँदा बाबर अलीले ३२ रनको नटआउट इनिङ खेले। यी दुईबिच पहिलो विकेटका लागि ९८ रनको अविजित साझेदारी भयो। अख्तर म्यान अफ द म्याच घोषित भए।
त्ससअघि पहिले ब्याटिङ गरेको नेपालका लागि दुर्गादत्त पौडेलले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रमेश बनियाना १७ रनमा अविजित रहे। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि मट्टी उल्लाहले ३ विकेट लिएका थिए। यसअघि नेपाल लिगचरणको खेलमा पनि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
नेपालले २०१२ मा पहिलो पटक विश्वकप खेलेयता पहिलो पटक सेमिफाइनलको यात्रा गरेको हो। त्यसयता तीन पटक विश्वकप खेलेपनि सेमिफाइनल प्रवेश गर्न सकेको थिएन्। यद्यपि चौथो पटक भने सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।
सुरुमा ७ टोलीको सहभागिता रहने भनिएको प्रतियोगितामा भारत सहभागिता नभएपछि नेपालले एतिहासिक रुपमा अन्तिम चारमा स्थान बनायो। भारतसँगको अन्तिम खेलमा नेपालले ‘वाकओभर’ पाएसँगै नेपालले महत्त्वपूर्ण २ अङ्क प्राप्त गर्यो। उक्त अङ्कनै नेपाललाई अघिल्लो चरण पुग्न निर्णायक बन्यो।
लामो यात्रा र अभावबिच पाकिस्तान पुगेको नेपालले सुरुवाती दुई खेलमा श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। नेपालले त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो।
अन्तिम खेलमा बलियो टोली आयोजक पाकिस्तानसँग पनि नेपाल पराजित भयो। भारत सहभागी नभएपछि ऊसँगका सबै विपक्षीले समान २ अङ्क प्राप्त गर्न सफल भएका थिए। यही अंकका कारण नेपालले ६ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको थियो।
मंसिर १६, २०८१ आइतबार २१:३३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।