डिजिटल माध्यमबाट तीन वर्षमा तीन लाख युवालाई रोजगारी दिन्छौँ : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल माध्यमबाट तीन वर्षमा तीन लाख युवालाई रोजगारी दिने बताएका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले राज्यको पुराना नीति परिमार्जन तथा डिजिटल माध्यमबाट तीन वर्षमा करिब तीन लाख युवालाई रोजगारी दिन सरकार लागिरहेको बताए।
उनले भने, ‘राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट तीन वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ।’
मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताए।
उनले थपे, ‘यो स्थायी सरकार हो। धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबायाँ हुँदैन। देशलाई नयाँ दिशा दिएरै छोड्छ।’
मन्त्री गुरुङले विकासका लागि तीन खर्ब मात्रै बजेट छुट्याइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताए।
मंसिर १६, २०८१ आइतबार १७:५८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।