रोल्पामा पुलको पर्खाल भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

रोल्पामा पुलको पर्खाल भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

दाङ : रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका-३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।

दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेका छन्।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका  थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो।

पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुईजना भाग्न सफल भएको प्रहरीले जनाएको छ।

मंसिर १६, २०८१ आइतबार १६:५१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।