लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ।

हिल्टन काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरू पनि उपस्थित रहेका थिए।

यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन्। साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो।

यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवं नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ।’

लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छौँ र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो। लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौँ।’

यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो।

एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ।

मंसिर १६, २०८१ आइतबार १५:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।