चासोको साथ हेरिएको कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान हुँदैछ

चासोको साथ हेरिएको कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान हुँदैछ

काठमाडौं : कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन्।

दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएको कीर्तिपुर नगरपालिकाको मेयरका लागि दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी परेको छ। २० जनाले उम्मेदवारी दिएकोमा ९ जना दलगत र ११ जना स्वतन्त्र छन्।

मेयरमा कांग्रेसबाट कृष्णमान डङ्गोल, एमालेका सुरेन्द्र मानन्धर, माओवादीबाट शिव शरण महर्जनको उम्मेदवारी परेको छ। एकीकृत समाजवादीले माओवादीलाई सघाउने निर्णय गरेको छ। 

जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल निर्वाचनमा सहभागी हुँदा प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने निर्वाचनमा सहभागी भएन।  

मंसिर १६, २०८१ आइतबार ०९:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।