दुई दिनभित्र मतपरिमाण आइसक्ने, निर्वाचन आयोगको वेबसाइटबाट मतपरिणाम हेर्न सकिने

दुई दिनभित्र मतपरिमाण आइसक्ने, निर्वाचन आयोगको वेबसाइटबाट मतपरिणाम हेर्न सकिने

काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरू भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान सुरू भएको हो।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन्। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ भित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

'एउटा मात्रै मतदान केन्द्र रहेका वडामा मतदान सकिनासाथ मतपेटिका अन्यत्र ढुवानी नगरी सोही स्थानमा गणना गर्ने व्यवस्था गर्नू भनेका छौँ, थपलियाले भने।

उनले वडामा एकभन्दा बढी मतदान केन्द्र छन् भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने बताए। 

'काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको परिणाम सोही दिन (राति १२ बजे)सम्म नतिजा निकाल्ने गरी तयारी गर्नू भनेका छौँ, उनले भने।

उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ को राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको थपलियाले बताए।

प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ। कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ। त्यहाँ पहिले वडाको मतगणना हुनेछ।

उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन्।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ। निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने छ। 

मंसिर १६, २०८१ आइतबार ०९:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।