उकेरा टप फाइभ : क्रिकेटको आवरणमा पारसको शंकास्पद कामदेखि डा. सुभाषको उपचार अनुभवसम्म

आज नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन। त्यसैले दिनभर एनपिएल चर्चामा रह्यो। आजै भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुरूआत गर्यो। कीर्तिपूरमा भएको खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकमा विराटनगरविरुद्ध जनकपुरले सहज जित निकाल्यो।
आजको खेलमा विराटनगर किङग्सलाई आठ विकेटले हराउँदै जित निकाल्दा जनकपुर बोल्ट्सका ब्याटर लाहिरु मिलान्था एकल हिरो बने। विराटनगरबाट १२८ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरको तर्फबाट मिलान्थाले ५३ बलमा नौ चौका र तीन छक्कासहित ७५ रन बनाए।
पहिलो संस्करणको एनपिएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने, विराटनगरको गप्टिल। उनले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए।
आज सबैभन्दा विवादको विषय बन्यो- एनपिएल हेर्न गएका दर्शकहरू आपसमा किचिएर घाइते हुँदा आयोजक क्यानको व्यवस्थापनमाथिको प्रश्न। एनपिएल हेर्न गएका जयन श्रेष्ठ, शिशिर गौतम, केशव आचार्य, केशव नेँगी र प्रेम खड्गी पनि घाइते भए। त्यसका अलावा प्रहरी जवान अजय तामाङ र प्रहरी दानबहादुर राउत पनि घाइते हुँदा उपचारात प्रहरी जवान तामाङको अवस्था गम्भीर छ।
आसन्न चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे ब्रिफिङ गराए। प्रधानमन्त्री ओलीको भ्रमण तयारीका चीन गएकी परराष्ट्र मन्त्री डा आरजु राना देउवा आजै स्वदेश फर्किइन्।
अब उकेरामा आज प्रकाशित टप पाँच समाचार
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ सालदेखि चालु आर्थिक वर्ष ०८१ कात्तिकसम्म कर्णाली प्रदेशमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी ७ सय ८७ जनाको मृत्यु भएको छ भने ६ हजार १ सय ६७ जना घाइते भएका छन्। फेरिपनि हत्केलामा जीवन राखेर सवारी चलाइरहेका छन् कर्णाली राजमार्गका चालकहरू। उनीहरू भन्छन्- ‘फर्किएला जस्तो त कहिल्यै पनि लाग्दैन।’
पूरा समाचार : हत्केलामा जीवन राखेर सवारी चलाइरहेका कर्णाली राजमार्गका चालकहरूको पीडा- ‘फर्किएला जस्तो त कहिल्यै पनि लाग्दैन’
क्रिकेटको आवरणमा क्यानका सचिव पारसको शंकास्पद काम देखिएको छ। एनपीएलको मैदानबाट अनलाइन जुवाको लत फैलाउँदै छन् उनी। त्रिविको क्रिकेट मैदानमा नेपालमा खेलको प्रवर्द्धन गर्न भनेर अहिलेसम्मकै महंगो मूल्यमा मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंकसँगै अनलाइन जुवा, क्यासिनो र सट्टेवाजी खेलाउने कम्पनी वुल्फत्रिपलसेभेनको ब्राण्ड पनि देखिने छ। नेपालमा कुनै पनि प्रकारको जुवा खेलाउनु प्रतिबन्ध हो। त्यसैले पारसले यो कम्पनीलाई सिधै ल्याएका छैनन्। उनले यसको सरोगेट कम्पनी वुल्भत्रिपलसेभेनन्युज डटकमको आवरणमा एनपिएलमा भित्र्याए।
पूरा समाचार : क्रिकेटको आवरणमा पारसको शंकास्पद काम, एनपीएलको मैदानबाट अनलाइन जुवाको लत फैलाउँदै
प्रचार प्रसारमा निकै भव्य र व्यवस्थित देखिएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल भने निकै भद्रगोल देखियो। खेल हेर्न आएका दर्शकलाई व्यवस्थित गर्न नसक्दा टिकट नभएकाहरू मैदानमा पुगे, टिकट किनेर खेल हेर्न गएकाहरू बाहिर उभिएर नाराबाजीमा उत्रिए।
पूरा समाचार : एनपिएलको उद्घाटनमा भद्रगोल : खेल सकिँदासम्म टिकट किनेका दर्शकहरू मैदानमा जान पाएनन्, बाहिरै नाराबाजी
डा. सुभाष पाण्डेय ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विशेषज्ञ चिकित्सक हुन्। समग्र रोगको उपचार गर्ने चिकित्सकीय विद्याको अध्ययन गरेका उनले चिकित्सकीय पेशाको शिलशिलामा दुर्गमका बिरामीले भोग्नु परेको दुःख तथा पिडा नजिकबाट नियालेका छन्। बर्दिया अस्पतालमा कार्यरत उनै डा. सुभाषले चिकित्सकीय पेशाको शिलशिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन् :
पूरा समाचार : डा. सुभाषको उपचार अनुभव : एपेन्डिसाइटिस फुटेर आन्द्रा जमेका ११ वर्षीय बालक चामत्कारिक रूपमा बाँचेपछि...
निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ। त्यसका लागि विभिन्न २० राजनीतिक दल र स्वतन्त्रसहित तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
पूरा समाचार : उपनिर्वाचनको तयारी सकियो, ४१ पदका लागि ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर १५, २०८१ शनिबार २२:१०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।