स्वर्णिमले रवि बचाउको लागि आन्दोलन गर्नुपर्ने भएकाले उपनिर्वाचनमा उम्मेदवार उठाउन नसकिएको स्वीकारे

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन्।
आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताए।
नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा वाग्लेको भनाइ छ।
उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए।
उनले पार्टी सभापति रवि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको स्वीकार गरे।
रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ। दुई जिल्ला समन्वय समिति प्रमुख, ८ नगरपालिका/गाउँपालिका प्रमुख–उपप्रमुख र ३४ वडाध्यक्षसहित ४४ पदका लागि हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने २६ पदमा मात्रै उम्मेदवारी दिएको छ।
नगर सभापति जयराम कार्कीको एकल उम्मेदवारी सिफारिस हुँदासमेत रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवार उठाएन।
सभापति रवि अहिले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको छानबिनका लागि प्रहरी हिरासतमा छन्। आफ्ना सभापतिलाई राज्यले प्रतिशोध साँधेर फसेको दाबीसहित रास्वपा विरोध प्रदर्शन गरिरहेकै छ। अहिलेसम्म पहिलो र दोस्रो चरणको आन्दोलन गरेको रास्वपाले उपनिर्वाचन नजिकिएपछि मात्र विरोध प्रदर्शनलाई थाँती राखेको हो। त्यही प्रदर्शनका कारण पनि रास्वपाले उपनिर्वाचनमा उम्मेदवार नै नपाउने परिस्थिति बन्यो।
मंसिर १५, २०८१ शनिबार १९:४५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।