एनपिएलको उद्घाटनमा खेलमा देखिएको जनकपुर बोल्ट्सका लाहिरुको विस्फोटक ब्याटिङ

काठमाडौँ : नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर किङग्सलाई आठ विकेटले हराउँदै जित निकाल्दा जनकपुर बोल्ट्सका ब्याटर लाहिरु मिलान्था एकल हिरो बने।
विराटनगरबाट १२८ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरको तर्फबाट मिलान्थाले ५३ बलमा नौ चौका र तीन छक्कासहित ७५ रन बनाए।
श्रीलङ्कामा जन्मिएका उनी अमेरिकामा बस्छन्। विराटनगरलाई सहजै आठ विकेटले हराउँदै पहिलो खेलबाटै जनकपुरले दुई अङ्क जोडेको छ। विराटनगरलाई हराउन जनपुरले पुरै ओभर पनि खर्च गर्नु परेन। उसले १५.३ ओभरमा दुई विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो।
जनकपुरका क्याप्टेन अनिलकुमार साह पाँच रन बनाएर बाहिरिँदा आसिफ शेख शून्य रनमै आउट भएपछि प्रारम्भमा टिम दबाबमा परेको थियो। तर लाहिरुले पुरै खेल सम्हालिदिए। हर्ष ठाकेरले उनलाई साथ दिँदै २९ रन बनाए।
टस हालेर पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको विराटनगरका ब्याटरहरु पहिला नै दबाबमा देखिए। लोकेश बम ६ रनमै आउट भए।
ओमानी ब्याट्सम्यान अकिब इलियास र ओपनर मार्टिन मिलेर टिमलाई सम्हाल्ने प्रयास गरेका थिए। दुवैले ४७ रनको राम्रो साझेदारी गरेका थिए। त्यसपछि आएका प्राय सबै ब्याटर धर्मराउँदा पुरै २० ओभर पनि खेल्न नसकी टिम १९ ओभरमै एक सय २७ रनमा समेटिएको थियो।
मंसिर १५, २०८१ शनिबार १६:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।