देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेपछि प्रचण्ड- गगनजीप्रति मलाई साँच्चै दया लाग्यो, कति तल झर्न सकेको!

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नगरेको दाबी गरेका छन्।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डले हप्ताको एकचोटी कांग्रेसलाई प्रधानमन्त्री बनिनिदिन आग्रह गरेको भनेका थिए। त्यसपछि शनिबार खुमलटारमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गरे।
उनले देउवासँग आफ्नो सरकार परिवर्तनको बारे कुनै कुरा नभएको भन्दै महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्नसमेत आग्रह गरे।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। यो भन्दा सफेद झूट अरू केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइँन, यो विषयमा। अब तपाईंहरूले सोधिहाल्नुभयो। गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्थ्यो। अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’
राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा दया लागेको उनको भनाइ छ।
उनले थपे, ‘यो कुरा शतप्रतिशत झुटो कुरा हो। मैले भनेको छैन, भन्दा पनि भन्दिनँ। मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ। सरकार तपाईंहरु ०८४ सम्म नै चलाउनुस् भनेको छु। मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन।’
मंसिर १५, २०८१ शनिबार १६:०७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।