पहिलो टेस्टमा श्रीलंका ४२ रनमा अलआउट, पाँच ब्याट्सम्यान शून्यमा आउट

एजेन्सी : दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा श्रीलंकाको टोली ४२ रनमा अलआउट भयो। पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् भने टिमले १३.५ ओभरमा १० विकेट गुमायो।
डरबनस्थित किंग्समीड स्टेडियममा भएको खेलमा श्रीलंकाले टस जितेर बलिङ रोजेको थियो। बुधबार खेल सुरू गरेको दक्षिण अफ्रिकाले १९१ रनमा अलआउट भएको थियो।
बाभुमाले बनाए अर्धशतक
शुरुमा ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाले ८० रनमा ४ विकेट गुमाएको थियो। त्यसपछि पानी पर्न थालेपछि खेल रोकिएको थियो।
दोस्रो दिन टिमका कप्तान टेम्बा बाभुमाले ७० रन बनाए। उनको इनिङ्सको मद्दतले दक्षिण अफ्रिकाले १९१ रन बनाएको थियो।
उनका अलावा केशव महाराजले २४, मार्को जान्सनले १३, कागिसो रबाडाले १५ र ट्रिस्टन स्टब्सले १६ रन बनाए। बाँकी ब्याट्सम्यानले १० रनभन्दा बढी रन बनाउन सकेनन्।
श्रीलंकाका असिथा फर्नान्डो र लाहिरु कुमाराले ३-३ विकेट लिए। विश्व फर्नान्डो र प्रभात जयसूर्याले २-२ विकेट लिए।
१४ ओभर पनि टिक्न सकेन श्रीलंका
श्रीलंकाले पहिलो इनिङ्समा १४ ओभर पनि ब्याटिङ गर्न सकेन। तेस्रो ओभरमा पहिलो विकेट गुमाएको टोलीले १४औं ओभरको पाँचौं बलमा १०औं विकेट गुमायो।
लाहिरु कुमाराले १० रन र कामिन्दु मेन्डिसले १३ रन बनाए। दिनेश चण्डिमल, कुसल मेन्डिस, प्रभात जयसूर्या, विश्व फर्नान्डो र असिथा फर्नान्डोले खाता पनि खोल्न सकेनन्।
एन्जेलो म्याथ्युजले १, दिमुथ करुणारत्नेले २ र पाथुम निसान्काले ३ रन बनाए। दक्षिण अफ्रिकाका मार्को जान्सनले ७ विकेट लिए। गेराल्ड कुटीजले २ तथा कागिसो रबाडाले १ विकेट लिए।
यसरी दुवै टोलीको पहिलो इनिङ्स सकिँदा दक्षिण अफ्रिकाले १४९ रनको अग्रता बनाएको छ।
यो टेस्ट क्रिकेटमा श्रीलंकाको सबैभन्दा कम स्कोर हो। यसअघि सन् १९९४ मा पाकिस्तानविरुद्ध ७१ रनमा अलआउट भएको थियो।
यतिमात्र नभएर दक्षिण अफ्रिका विरुद्धको कुनै पनि टोलीको यो सबैभन्दा कम स्कोर हो। यसअघि २०१३ मा केप टाउनमा न्यूजिल्याण्डको टोलीले ४५ रन मात्र बनाएको थियो।
श्रीलंका र दक्षिण अफ्रिका दुवैले अझै पनि विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने आशा राखेका छन्।
श्रीलंकाले बाँकी ४ मध्ये ३ टेस्ट जित्नुपर्ने छ भने दक्षिण अफ्रिकाले बाँकी ४ खेल जित्नुपर्ने छ। दक्षिण अफ्रिकाले पाकिस्तान र श्रीलंकाले अष्ट्रेलियासँग थप २-२ टेस्ट खेल्नुपर्नेछ।
मंसिर १४, २०८१ शुक्रबार ०९:४०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।