गृहमन्त्री लेखकले महोत्तरी र पर्साका सीडीओलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधे

काठमाडौं : गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन्।
मंसिर ७ मा अख्तियारले जिल्ला प्रशासन कार्यालयका नासु अशोककुमार यादवलाई २० हजार घुससहित पक्राउ गरेको थियो। मन्त्री लेखकले सीडीओ कवारीलाई त्यसबारे सोधपुछ गर्दै आफ्नै कार्यालयको कर्मचारीलाई ‘अनुशासन’मा राख्न नसकेको भन्दै असन्तोष व्यक्त गरेका हुन्।
त्यसैगरी पर्साका सीडीओले केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री रुष्ट भएका हुन्। त्यसपछि उक्त अभिव्यक्तिबारे मन्त्री लेखकले उनलाई सचेत गराएका छन्।
कार्तिक ३० मा पर्साका सीडीओ अर्यालले अस्पतालमा आगो लगाउने अभिव्यक्ति दिएका थिए।
‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ,’ गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो।
मंसिर १२, २०८१ बुधबार १७:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।