रोकिएको आइपीओ निष्काशन चाँडै शुरू गरिने नवनियुक्त अध्यक्ष श्रेष्ठको दाबी

काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्ने गरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको बताए।
बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले थुप्रो चुनौतीहरूको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु। चुनौतीहरू थुप्रो छ। मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ। लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो। त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ।’
उनले नयाँ स्टक एक्सचेन्जका धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे।
उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताए। उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका काम अगाडि बढाउने बताए।
अध्यक्ष श्रेष्ठले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए।
उनले लामो समयदेखि रोकिएको आइपीओ समयमै आउने गरी काम गर्ने जानकारी दिए। उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे।
उनले भने, ‘पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ। आइपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ।’
अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन्।
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।
मंसिर १२, २०८१ बुधबार १४:४१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।