इतिहासका दुई हीरा

न त अलार्म बजाउनुपर्छ, न त कसैले बोलाउनु नै पर्छ। सबेरै साढे तीन बजे उठिसक्छन् इतिहासकारद्वय महेशराज अनि दिनेशराज। उठ्यो, केहीबेर हिड्यो अनि पढ्न र लेख्न थाल्यो। दैनिक पत्रिकाबाट शुरू भएको पढाइ पुस्तक, विभिन्न विषयका पुराना दस्तावेज हेरेरै बित्छ। फेरि भोलिपल्ट त्यही दैनिकी। दुवै जनाको यो दैनिकी शुरू भएको महेशराजको सात दशक अनि दिनेशराजको ६ दशक बढी भइसक्यो।
दैनिक खर्च चलाउन दुवैले काम नगरेका हैनन्। दुवै दाजुभाइको काम पढ्नु, पढाउनु अनि लेख्नु। फरक यत्ति हो, लामो समय दाजु महेशराज जर्मन बसे, भाइ दिनेशराजले नेपालमै वाल्मिकी क्याम्पसमा पढाए।
अहिले महेशराज ८० वर्ष कटे अनि भाइ दिनेशराज ७०। दुवैले जागिरबाट अवकाश त पाए तर सानैदेखिको पढ्ने र लेख्ने बानीबाट अवकाश लिने सुर दुवैमा छैन। उनीहरूमा त बाबु नयराज पन्तले जति पढ्न नसकेकोमा थकथक छ यो उमेरमा पनि। उकेराले उनीहरूसँग छुट्टाछुट्टै कुरा गर्दा दुवैको एकै भनाइ थियो- ‘शरीरले साथ दिएसम्म खोज्ने, पढ्ने अनि लेख्ने।’
इतिहास र संस्कृत शिक्षामा पारङ्गत दाजुभाई
नेपाली इतिहासका सामग्रीहरूको खोजीमा महत्त्वपूर्ण योगदान गरेका व्यक्ति हुन् नयराज पन्त। नेपालको इतिहास शुरूमा नेपालीहरूले लेखेका होइनन्। राणाकालमा एकाध बाहेक शिक्षा नागरिकको पहुँचमा पुगेकै थिएन। केही ब्राह्मण, राजा र राणाहरूले पढ्न पाउँथे।
अनि कर्क प्याट्रिक, फ्रान्सिस बुखानन ह्यामिल्टन, हेनरी एम्ब्रोस ओल्डफिल्ड, भगवानलाल इन्द्रजी, सेसिल बेन्डल, डेनियल राइट र सिल्भाँ लेभी थिए नेपालको इतिहास लेख्ने। प्राथामिक स्रोतसम्मै पुगेर तथ्यहरू खोतलेर इतिहास लेखिन्थ्यो।
पछि मात्रै नेपाली इतिहासमा नेपालीहरूको वर्चश्व बढ्दै गयो। महेशचन्द्र रेग्मी, जगदिशचन्द्र रेग्मी, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, योगी नरहरिनाथ, डिल्लीरमण रेग्मीलगायतले इतिहास उत्खनन्मा तथा लेखनमा आफ्नो जीवनकाल बिताए। अन्य भन्दा फरक छवि बनाएका इतिहासकार नयराज प्राथामिक स्रोतसम्मै पुगेर सामग्री पर्गेल्ने, चिन्तन गर्ने र तथ्यपरक सामग्री पस्कने केन्द्रित भए। त्यही बानीले उनलाई नेपालको इतिहास लेखनमा अग्रस्थानमा पुर्यायो।
उनै नयराज र बुधकुमारीका छोराहरू हुन् महेशराज र दिनेशराज। आफू दिउँसो संस्कृत महाविद्यालय अनि विहान पाठशालामा पढाउँथे। त्यहाँका शिष्यहरू शनिबार शिलालेख खोज्ने, जुन भाषामा छ त्यही भाषामा उतार्ने र उतारेपछि त्यसलाई नेपालीमा उतार्ने अनि छाप्ने गर्थे।
नयराजले एकल अनुसन्धानमूलक पुस्तक पाँच वटा, अन्यसँग मिलेर १० वटा र आफ्ना सम्पर्कमा आएका विद्यार्थीहरूबाट विस २००९ देखि इतिहास संशोधन, सावधान पत्र, व्याकरण संशोधन, पञ्चाङ्ग संशोधनहरूको प्रकाशन गरे। २०२१ सालदेखि संशोधन मण्डलको जर्नल पत्रिका ‘पूर्णिमा’ प्रकाशन गरे, जुन अहिले पनि निस्कन्छ महेशराजको सम्पादनमा।
महेशराजको साना ठूला गरि १६ वटा पुस्तक प्रकाशन भए। सयौं लेख प्रकाशन गरे। त्यस्तै दिनेशराजले ४३ वटा किताब लेखे। जसमा १० वटा सह-लेखनका हुन् भने बाँकी उनैका।
बुवाकै काखमा हुर्केका दाजुभाइ
२०११ सालमा महेशराज-दिनेशराजकी आमा अर्थात नयराजकी श्रीमती बुधकुमारी बितिन्। त्यतिबेला दिनेशराज पाँच वर्ष पूरा मात्रै भएका थिए भने महेशराज १० वर्षका। बुधकुमारीले एक छोरीको जन्म दिएकी थिइन्। २८ दिनकी सुत्केरी हुँदा उनी बितिन्। दिनेशराजलाई आमाबारे उत्ति थाहा त छैन तर उनका कान्छा मामाले आमा बितिहाली भनेको भने याद छ।
‘कान्छो मामाले यसकी आमा बितिहाली नरो भन्नुभएको थियो। मैले ‘म रोएको छैन’ भनी आँशु पुछेको थिएँ’, अहिले पनि गहभरी आँशु पार्दै दिनेशराजले त्यो क्षण सम्झिए।
महेशराजलाई भने आमाको याद छ। सम्पन्न परिवारकी छोरी उनी ठिकैको परिवारका सदस्यसँग विवाह गरेर आए पनि कहिल्यै गुनासो नगरेको उनको बुझाइ छ।
‘हुन त आमा बित्दा म १० वर्षको मात्रै थिएँ र पनि आमा कहिले पनि दुखी भएको पाइन’, उनले भने।
महेशराज र दिनेशराजले बुवा नयराजले नै खोलेको पाठशालामा पढे। त्यतिबेला उनीहरूका दिदी र बहिनीले पाठशालामा नपढे पनि घरमै पढ्न सिकेको दिनेशराजको भनाइ छ।
बुवा नयराजको पढाउने दुई सिद्धान्त थियो। पहिलो, पाठहरू कण्ठ पार्ने। दोस्रो, अनुसन्धानमूलक हुनुपर्ने। त्यसबेला देखि नै दुवैको बानी विहान ६ बजेदेखि रातको १० बजेसम्म खानपिन बाहेक सबै समय पढेर अनि अनुसन्धान गरेरै बिताए।
नयराज पन्तकी आमा भने जिउँदै थिइन्। उनैले नाति-नातिनालाई हुर्काइन्। बुधकुमारी बित्दा ४० वर्षमात्रै भए पनि उनले दोस्रो विवाह गरेनन्। नयराज दोस्रो विवाह गर्ने कामलाई निन्दा गर्थे। कसैको दोस्रो विवाहमा बोलाए पनि उनी जाँदैनथे। जसले ‘उमेर छ, दोस्रो विवाह गर’ भन्थे उनी तीसँग रिसाउँथे।
दिनेशराज नयराजले श्रीमती बितेको १४ वर्षपछि लेखेको कविताबाट आमालाई कति माया गर्छन् भन्ने थाहा पाएको बताउँछन्। नयराजको कविताको एउटा श्लोक छ-
तिमी गएको पनि १४ वर्ष भो,
कता कता त्यो अघिको कुरा भो।
त्यस्तै उनले श्रीमतीको सम्झनामा लेखे :
‘म सामान्य ब्राह्मण परिवारको मान्छे। तिमी सम्पन्न परिवारको मान्छे। तिम्रा अन्य दामलीहरूका लोग्ने एक से एक परेर हिड्थेँ। अन्य स्वास्नी मान्छेलाई जस्तै तिमीलाई पनि आफ्नो लोग्ने अरुतिर लाग्छ कि भन्ने लाग्थ्यो होला तर यो शंका दूर थियो। तिमी पनि पढिरहेकी थियौ। भानुभक्त्तको रामायाणको श्लोक पढी मलाई सुनाउँथ्यौ। तिम्रो र मेरो प्रेम बढ्दै थियो। तिमीले मेरो दारी चलाउँदै हजुर त युवक अवस्थामा नै बुढो हुनुभो भन्थ्यौ। तर, आफ्नो गतिमा गएको मान्छेलाई के नै पो गर्न सकिन्छ र?’ भनि लेखेका थिए।
उनी बेला-बेलामा छोराहरूतिर हेर्दै ‘तिमारुकी आमा बाँचिरहेकी भए यति वर्ष कि हुन्थी’ भन्थे।
महेशराज र दिनेशराजको घरमा दुई दिन श्लोक भन्ने गरिन्थ्यो। पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते र दैवज्ञ शिरोमणि लक्ष्मपति पाँडेको जन्मजयन्ती वैशाख २७ गतेका दिन। आफ्ना छोरा-छोरी, नाति-नातिना र केही शिष्यहरू भेला गर्थे नयराज। नयराजले पूजाआजालाई खासै महत्व दिदैँनथे। बिहान उठेर घण्टौ पूजा गर्नुभन्दा अध्ययन चिन्तन मननमै बिताउँथे।
‘पूजाकोठा भन्दा बाहिर धर्म लग्न हुन्न भन्ने बुवाको मान्यता थियो। पूजा पनि उति धेरै गर्ने हैन। म पनि खासै पूजा गर्दिन’, महेशराजले भने।
२०५९ साल कात्तिकमा नयराज बिते। त्यही सालको असोज महिनासम्ममा दिनेशराजले बुवालाई एक घण्टा पाठ पढेर सुनाउँथे। आखिरी दिनमा दिनेशराजलाई नयराजले संस्कृतमा भने, ‘मेरो यो अवस्था भइसक्यो। म मरेपछि कसले पढाउँछ तँलाई?’ यो सम्झँदा दिनेशराजलाई लाग्छ बुवाले सन्तानलाई जहिले सिकाउनुपर्ने ठान्छन्।
नयराजलाई नेपाली, हिन्दी, अंग्रेजी, संस्कृत, मैथिली, भोजपुरी, मराठी र नेवारी भाषा आउँथ्यो। यो भाषा मध्ये दुवै छोरालाई सबै भाषा आउँछ। महेशराजलाई त जर्मन समेत आउँछ। भाषा जान्ने मात्रै हैन शुद्ध लेख्न र बोल्न पनि जान्नुपर्ने बुवाको नियम दुवैले पालना गरेका छन् अहिलेसम्म।
दुवैका गुरु एकै
बुवासँग उनीहरूको बुवा-छोराको भन्दा पनि गुरु-चेलाको सम्बन्ध रह्यो। घरमा घर व्यवहारका हैन, पढाइकै कुरा हुन्थ्यो। पढाइकै काम हुन्थ्यो।
‘मेरो बुवासँग सम्बन्ध बाबु-छोराको भन्दा पनि गुरु चेलाको जस्तो थियो। हामी उहाँले भने अनुसार पढ्थ्यौँ। कुरा पनि किताबकै हुन्थे। घर व्यवहारका खासै कुरा हुँदैनथे’, महेशराजले भने।
महेशराजले पाठशालाकै अध्ययनका आधारमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरे। ६५ वर्षको उमेरसम्म त्यहीँ जागिरे भइरहन पाउने अवसर छाडेर नेपाल फर्के ५९ वर्षको उमेरमा।
२२ वर्षको हुँदा अमेरिकी सांस्कृतिक केन्द्रको इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भएर अंग्रेजी सिकेका हुन् उनले। महेशराजले सन् १९७६ मा नेपाल-जर्मन मनुस्क्रिप्ट प्रिजर्भेसन प्रोजेक्टमा काम गरेपछि जर्मनले उतै लिएर गयो।
२३ वर्ष लामो युरोप बसाइमा तीन वर्ष फ्रान्समा पनि बसे। जर्मनीका विभिन्न विश्वविद्यालयमा ‘साइन्टिफिक कोलाबोरेटर’ थिए भने फ्रान्सको द फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च (सीएनआरएस)मा डाइरेक्टर अफ रिसर्चर भएर काम गरे।
उसो त महेशराजले जर्मन जानुअघि नै विवाह गरिसकेका थिए मिनुसँग। मिनु काठमाडौंकी हुन्। उनीहरूका तीन सन्तान छन्। दुई छोरी एक छोरा। तीनै जना नेपालमा छैनन्, दुई जर्मनी र एक क्यानडामा छन्। जेठी छोरीले ‘संशोधन मण्डल’को लागि वार्षिक एक लाख दिने गरेको महेशराजले बताए।
महेशराज २०७८ मा राष्ट्रपति विद्या भण्डारीको कार्यकालमा एक वर्षजति राष्ट्रपति भण्डारीको विज्ञ समूहमा रहेर पनि काम गरे। उनी पुरस्कार लिने, अनावश्यक कार्यक्रममा जान रुचाउँदैनन्। एक पटक एउटा मन्त्रालयले प्रतिभा पुरस्कारका लागि आवेदन दिनु भनेर फोन गरेछ उनलाई।
‘मलाई त रिसै उठ्यो। अब म आवेदन दिएर पुरस्कार लिउँला त ! त्यो पुरस्कार व्यक्तिलाई दिए हुन्छ भन्दिएँ। उनीहरूलाई पो प्रोत्साहन हुन्छ, मैले सम्मान पाउँला भनेर काम गरेकै हैन। मलाई केही पाउनु नै छैन’, उनले सम्झिए।
तर, उनले पद्य श्री साधना सम्मान पाएका छन्। यसमा उनीहरूले किन छाने आफूलाई थाहा नभएको उनको भनाइ छ।
महेशराजका ‘जातरूपज कमेन्ट्री अन द अमर कोश’, ‘अन संस्कृत एजुकेसन’, ‘नेपाल संवतको राष्ट्रिय मान्यताको अनौचित्य’, ‘नयराज पन्तलाई चिनाउनको लागि’, ‘नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा’, ‘को हुन् त नयराज पन्त?’, ‘नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह’, ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’, ‘इनेप्त पिसिमिन?’, ‘ह्वाट इज अंशुवर्मन राइट’, ‘रिटेरिक अर ग्रामर’, ‘राजा राणा र कांग्रेस’, ‘नेपाल इतिहासका कलमजिवी’ लगायतका कृति प्रकाशित छन्।
पुस्तक लेखनमा दाजु मात्रै हैन दिनेशराज पनि अब्बल हुन्। २०३५ सालमा माला तिवारी पन्तसँग विवाह गरेका उनका तीन छोरा छन्। उनका तीनै छोरा यतै नेपालमा काम गर्छन्। वाल्मीकी क्याम्पसमा २०३१ साल देखि २०६९ सालसम्म पढाएका उनले त्यसपछिका दुई कार्यकाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रहे।
प्राज्ञ हुनुअघि नै दर्जनौँ पुस्तकमा काम गरिसकेका दिनेशराजले दर्शन र सामाजिक अध्ययन विभागमा रहेर काम गरे। दिनेशराजका एकल लेखनीका पुस्तकहरूमा ‘नेपालको इतिहासका केही पाना’, ‘लिच्छविकालमा चलेका संवत्’, ‘गोरखाको इतिहास’, ‘बुद्धदेखि पहलमानसम्म’, ‘इतिहासका कुरा (भाग १ देखि ४ सम्म)’, ‘राजीवलोचन जोशीका बराजु दामोदर जोशी’, ‘श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुरा’, ‘श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश’, ‘धादिङमा फेला परेको नेपाली कविता’, ‘श्री ५ त्रिभुवनको राज्यारोहण’, ‘संक्षिप्त वंशावली’ लगायतका गहन अनुसन्धात्मक इतिहासका खोज-ग्रन्थहरू प्रकाशित भएका छन्।
सह-लेखनमा १५ वटा पुस्तक लेखेका दिनेशराजका ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, ‘वृत्तशतक (मूहुर्त ग्रन्थ)’, ‘सुमतितन्त्र (प्रथम भाग)’, ‘कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना (प्रथम भाग)’, ‘संस्कृत विद्वत्सम्मेलन संस्मरण ग्रन्थ (प्रथम भाग)’, ‘नेपाली लिपिको समीक्षात्मक अध्ययन (अंग्रेजी)’ पुस्तक प्रकाशित छन्।
इतिहासका हिरा
नयराज पन्त अगाडिसम्म नेपालको इतिहास बुझ्न विदेशी इतिहासकारको भर पर्नुपर्ने अवस्था थियो। त्यो सत्य हो या हैन पुन: परीक्षण गर्ने साधन थिएन। नयराजले मूल स्रोतमै पुगेर खोज गर्ने शैलीको प्रारम्भ गरेपछि इतिहासका नाममा लेखिएका धेरै मिथ्याङ्क सच्चिए। त्यसलाई यी दाजुभाइले निरन्तरता दिए। उमेरका आधारमा दुवैको शरीर गलिसकेको छ, तर उत्साह गलेको छैन इतिहास कोट्याउन।
बाबुले शुरू गरेको शंसोधन मण्डललाई निरन्तरता दिइरहेका छन् दुवैले विना कुनै लोभ। आफ्नै घरलाई इतिहासको थलो बनाएका छन्। उनीहरूका सम्पत्ति भनेकै दुर्लभ दस्तावेजहरू हुन्। सम्हालेर राखेका छन् दुवैले।
देशको इतिहास लेख्दा न त्रासमा परे उनीहरू न कतैबाट केही पाउने आशमा नै देखिए। उनीहरूले नेपाली इतिहास लेखनको क्षेत्रमा अमूल्य योगदान गरे, गरिरहेका छन् कुनै व्यक्तिगत लोभ विना।
तथ्यमा टेकेर लेख्ने, बोल्ने र प्रमाणिक हुने थोरै इतिहासकारमध्ये दुई दाजुभाइ अहिले पनि अब्बल कोटीमा पर्छन्। लय छाडेका छैनन् दुवैले।
उनीहरूले गरेको कामलाई लिएर प्राज्ञ तहमै आलोचना नभएको पनि हैन। भएका थिए, भइरहेका छन्। कसैले तथ्यमा टेकेर आलोचना गरेमा उनीहरू पनि तथ्यमै टेकेर जवाफ दिन पारङ्गत नै छन्। उनीहरू खुला छलफलको पक्षधर हुन्।
तर, चाहेको कुरा लेख्न खोज्ने लेखकहरूसँग भने महेशराज र दिनेशराज दुवैको आक्रोश छ। इतिहास भनेको चाहेको हैन प्रमाणले बोलेको लेख्नुपर्ने पक्षमा छन् दुवै।
महेशराज भन्छन्, ‘इतिहास आफूले चाहेको लेख्ने हैन, प्रमाण जे छ त्यही लेख्ने हो। कसैले चित्त दुखाउला भनेर भावानात्मक हुन जरुरी नै छैन।’
दिनेशराजको बुझाइ पनि उस्तै छ।
‘कोही रिसाउला भनेर प्रमाणिक कुरा बोल्न, लेख्न डराउनु हुन्न। सत्य तितो नै हुन्छ। प्रमाणिक हुन छाड्न हुँदैन।’
यी दुवै दाजुभाइमाथि ‘संशोधन मण्डल’ विस्तार नगरी परिवारको घेरामै सीमित गरेको आरोप बेलाबखत लाग्ने गरेकै छ। तर, उनीहरूमा चिन्ता देखिँदैन यस्ता आरोपमा। उनीहरूलाई चिन्ता छ त बश नेपालको इतिहासको, पूर्णिमाको निरन्तरता अनि तथ्यपरक इतिहास लेखनको।
पुस्तकालयका सामग्री के होला !
बुवाको शेषपछि दुवै दाजुभाइले अंशबन्डा गर्दा बौद्धिक धनलाई जोड दिए अनि आ-आफ्ना घरमा पुस्तकालय बनाए। महेशराजको घरमा रहेको पुस्तकालयलाई उनले तीन खण्डमा विभाजित गरेका छन्। पहिलो, उनका बुवा र पुर्खाका संकलन लक्ष्मीपति-नयराज संग्रह, दोस्रोमा संशोधन-मण्डलको संग्रह अनि तेस्रो उनका निजी संग्रह। यी तीनै खण्डमा गरेर १६ हजार भन्दा बढी पुस्तक र सामग्री छन्।
त्यसमा नेवारी लिपीको ३५० वर्षदेखिको पात्रो1, १८४८ को गोरखा र कुमाउको सन्धिको मूलकपी, गीर्वाणयुद्धविक्रम शाहको चिना, सय वर्षअघि देखिका पत्रिका, हस्तलिखित ग्रन्थ अनि ज्योतिषशास्त्रका दुर्लभ पुस्तकहरू समावेश छन्।
पुस्तकालयमा पनि संस्कृत, गणित ज्योतिष, धर्मशास्त्र, इतिहास, नेपाली भाषा तथा साहित्यका पुस्तक तथा पत्रपत्रिकासँगै दुर्लभ पुस्तकहरू समेत छन्।
दुवैले बढो जनतले जोगाएका छन् पुस्तकालय। अध्यता र पारखीहरू खोज्दै उनीहरूको पुस्तकालयमा पुग्छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी महेशराजको पुस्तकालयमा पुगेर दुई घण्टा बिताएकी पनि थिइन्। उनले त्यहाँ रहेका महत्वपूर्ण सामग्रीको सुरक्षामा चासो पनि राखेकी थिइन्। तर, अझसम्म केही भएको छैन।
तर, अध्यावधि र सुरक्षा गर्न निकै कठिन भइरहेको छ दुवैलाई। उनको बाबु नयराजको शेषपछि महत्वपूर्ण र दुर्लभ सामग्री यी दाजुभाइले जोगाए। तर, अब उनीहरूको शेषपछि के होला?
विकल्प डिजिटल लाइब्रेरी हुनसक्छ। तर, सघाउने कसले?
पुष १९, २०८१ शुक्रबार १७:०१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।