आठ वर्षअघि जसले ट्रम्पलाई ‘सबैभन्दा अश्लील व्यक्ति’ भने, उसैलाई विदेशमन्त्री बनाउँदैछन् ट्रम्प

आठ वर्षअघि जसले ट्रम्पलाई ‘सबैभन्दा अश्लील व्यक्ति’ भने, उसैलाई विदेशमन्त्री बनाउँदैछन् ट्रम्प

एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रूबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। 

नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, 'आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूबियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ। यो निर्णय अन्तिम होइन।'

जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रूबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ।

रूबियोले गत साता सीएनएनसँग भनेका थिए, 'म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।'

क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रूबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ‘अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए। 

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक गरेका छन्। 

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उहाँको चुनावी अभियानलाई बढावा दिँदै उनी अमेरिकी सिनेटमा निर्वाचित भए।  

कात्तिक २७, २०८१ मंगलबार १९:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।