मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट निलम्बन गर्यो, प्रहरी अझै मौन

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट निलम्बन गर्यो, प्रहरी अझै मौन

काठमाडौं : मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीबारे उनको पार्टी एमालेले सङ्गठित सदस्यबाट निलम्बित गरेको छ। आज बसेको एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गर्यो।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको सङ्गठित सदस्यताबाटसमेत निलम्बन गरिएको बताए। अधिकारी पार्टीको कोशी प्रदेशको सदस्य पनि हुन्।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

मन्त्रीपरिषद्बाट निर्णय नै नगराई व्यक्तिगत रूपमा जापान हिँडेका अधिकारी डिपोर्ट भएर नेपाल फर्किएपछि नक्कली कागजको भरमा तीन जनालाई जापान प्रवेश गराउने प्रयास गरेको उनीमाथि आरोप छ। तर, अपराध अनुसन्धान गरिरहेको प्रहरीले भने उनलाई औपचारिक अनुसन्धानको दायरामा ल्याएको छैन।

प्रहरीको मानव तस्करीमा संलग्न रहेको आरोपमा हिरासतमा ६ जनालाई राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूको साथबाट फेला परेको सरकारी परिचय पत्र नक्कली भएको खुलिसकेको छ। 

यो पनि : 

कात्तिक २४, २०८१ शनिबार १६:०५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।