विश्वकप लिग-२ मा अमेरिकासँग फेरि हार्‍यो नेपाल

विश्वकप लिग-२ मा अमेरिकासँग फेरि हार्‍यो नेपाल

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल फेरि पराजित भएको छ।

अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल ३७ रनले पराजित भएको हो। खेलको पहिलो इनिङ्समा अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो।

अमेरिकाका लागि तीन खेलाडीले अर्थशतक बनाए। नेपालका लागि गुलशन झाले सर्वाधिक ३ विकेट लिए। यद्यपि उनले १० ओभरमा ८७ रन दिएर सबैभन्दा महंगा पनि सावित भए।

सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए।

२८२ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छँदा अलआउट हुँदै जम्मा २४४ रनमा बनायो।

नेपालका लागि ओपनर अनिल साहले बनाएको ५२ रनको स्कोर नै सर्वाधिक रह्यो। सोमपाल कामीले ४६ रन बनाउँदा कुशल मल्लले ३३ तथा दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए।

अमेरिकाका सौरभ नेत्रावल्करले नेपालको ४ विकेट लिए। यस शृङ्खलामा अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दैछ।

पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कट्ल्यान्डलाई ५ विकेटले हराएको थियो। नेपालले अब अन्तिम खेल सोमबार स्कट्ल्यान्डसँग खेल्नेछ।

कात्तिक १८, २०८१ आइतबार ०७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।