रविमाथि सुर्यदर्शन मात्रै हैन सुप्रिमसहितका सहकारीको रकम अपचलनमा पनि छानबिन, थपिन सक्छ किर्ते आरोप

काठमाडौँ : प्रहरीले गोर्खा मिडिया प्रालिमा गैर कानुनी रूपमा रकम लगिएको सहकारीबारे एकमुष्ट अनुसन्धान गर्ने भएको छ। पोखराको शुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परे पनि गोर्खा मिडिया प्रालिका सञ्चालकमाथि अन्य जिल्लामा रहेका सहकारीको रकम अपचलनमा संलग्नताबारे समेत अनुसन्धान सुरु भएको हो।
सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठित संसदीय समितिको प्रतिवेदनका आधारमा प्रहरीले नेपाल प्रहरीका पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर शुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नताबारे कास्की प्रहरीले अनुसन्धान गरिरहेकोमा बुटवल समेत लगेको छ। उनलाई सोमबार विमानबाट भैरहवाहुँदै बुटवल लगिएको थियो।
उनलाई बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनबारे समेत अनुसन्धान गर्न बयानका लागि सोमबार बुटवल पूर्याइयो। उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हिरासतमा राखेर बयान लिने तयारी गरेको छ।
नेपाल प्रहरीबाट अवकाश पाएपछि जोशी गितेन्द्रबाबु राईसँग मिलेर उनको व्यवसायमा संलग्न रहेका थिए। हर्बो लगायतका कारोबारमा पाट्नर भएका उनी जीवीले गोर्खा मिडिया प्रालिबाट ग्यालेक्सी टेलिभिजन खोलेपछि त्यसमा साझेदार बनेका थिए। सुर्यदर्शन सहकारी र सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले अनुसन्धान सुरु गरे पनि उनलाई प्रतिवादी बनाइएको थिएन। संसदीय समितिले उनको समेत नाम किटान गरेपछि प्रहरीले असोज ६ गते उनलाई पक्राउ गरेर पोखरा पठाएको थियो।
सुर्यदर्शनको अनुसन्धान सुरु भए लगत्तै पक्राउ परेका कुमार रम्तेललाई समेत बुटवल लगिएको थियो। गोर्खा मिडियाका अध्यक्ष जीवी राई भने फरार छन्।
रविमाथि पनि उस्तै अनुसन्धान
शुक्रवार पक्राउ गरेर पोखरा लगिएका गोर्खा मिडिया प्रालिका प्रबन्ध निर्देशन रवि लामिछानेमाथि पनि जोशीकै शैलीमा अनुसन्धान हुने देखिन्छ। विभिन्न सहकारीबाट गोर्खा मिडियामा अवैध रूपमा ६५ करोड रुपैयाँ लगिएको खुलेको थियो। रकम लैजाने र खर्च गर्ने प्रक्रियामा छवि संलग्न नदेखिए पनि उनी कम्पनीको सञ्चालकको हैसियतमा पक्राउ परेका हुन्।
सहकारी ठगी र सङ्गठित अपराधमा पक्राउ परेको र अनुसन्धानको अवधि तीन महिनासम्म हुने भएकाले प्रहरीले कुनै एक जिल्लाको सहकारीको रकम अपचलनमा मात्र अनुसन्धान नगरी गोर्खा मिडियामा अवैध रूपमा जुन-जुन सहकारीबाट रकम गएको देखिएको छ ती जिल्लामा अनुसन्धान सुरु भएको हकमा त्यता समेत पठाउने रणनीति लिएको देखियो। त्यसमा रवि समेत संलग्न देखिएका छन् नै।
कुन-कुन सहकारीमा अपचलन
गोर्खा मिडियामा सुर्यदर्शन र सुप्रिम मात्रै हैन अन्य सहकारीको समेत रकम अपचलन भएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ। यसमध्ये वीरगन्जको सानो पाइला, चितवनको सहारा, नेपालगन्जको समानताबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे भने प्रहरीले अनुसन्धान सुरु गरेको छैन।
रविमाथि चल्न सक्छ किर्ते मुद्दा
गोर्खा मिडियाको अन्य सञ्चालकहरूको हकमा रकम अपचलनको मात्र आरोप भए पनि रविमाथि भने किर्तेमा समेत अनुसन्धान हुनसक्छ। गोर्खा मिडिया प्रालिको १५% शेयर लिँदा अनि बेच्दा उनले नक्कली कागजपत्रको आधारमा कम्पनी रजिस्टारको कार्यालयलाई झुक्क्याएको देखिन्छ। यसको आधारमा उनीमाथि थप अनुसन्धान हुनसक्छ।
रविले बारम्बार आफूले लगानी नगरी क्षमता अनुसार निःशुल्क पाइने स्वेट शेयर लिएको र लिँदा वा छाड्दा रकम लेनदेन नगरेको दाबी गरे पनि कम्पनी रजिस्टारको रेकर्डमा भने शेयर किन्दा र बेच्दा रकम लेनदेन गरेको विवरण छ।
समितिले स्वेट शेयरको सम्बन्धमा समेत कानुन प्रबन्धबारे अध्ययन गरेर आवश्यक र उपर्युक्त प्रबन्ध गर्न समेत भनेको छ।
कात्तिक ५, २०८१ सोमबार २१:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।