प्रसूति गृहमा महिलाका लागि मानसिक स्वास्थ्य र नवजात शिशुको वंशाणु रोग पत्ता लगाउने स्क्रिनिङ शुरू

प्रसूति गृहमा महिलाका लागि मानसिक स्वास्थ्य र नवजात शिशुको वंशाणु रोग पत्ता लगाउने स्क्रिनिङ शुरू

काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूती गृह)ले आइतबारबाट गर्भवती तथा सुत्केरी महिलाकोे मानसिक स्वास्थ्य सम्बन्धी ओपिडी सेवा र नवजात शिशुमा हुन सक्ने रोग ‘मेटाबोलिक डिस्अर्डर’ पता लगाउने ‘न्यू वर्न स्क्रिनिङ’ सेवा थप गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार यी दुई सेवा विस्तारको उद्घाटन गर्दै बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यस्तो सेवा महत्वपूर्ण हुने बताए।

नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिजिज’ पहिचान गरि समयमा नै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अस्पतालमा आइतबारबाट देश कै पहिलो ‘न्यु वर्न स्कृनिङ’सेवा सुरु भएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।

नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यू वर्न स्कृनिङ’ समेत भनिन्छ। सो परीक्षणबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका रोग (मेटाबोलिक डिजिज) पत्ता लगाउन सकिने डा. अधिकारीले जानकारी दिए।

यस्तो परीक्षणबाट शिशुका ‘हाइपोथ्रोइडिज्म, जी६पीडी डिफिसियन्सी, फेनील्केटोनुरिया, बायोथिलिडेट डिफिसियन्सी, गालाक्टोसेमिया लगायत वंशाण रोगहरु पहिचान गर्न सकिने अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार मेटाबोलिक डिजिज वंशाणुगत समस्या हो। यस्तो समस्या भएका बच्चा जन्मदा सामान्य अवस्थामा देखिए पनि केही दिनपछि शिशुमा स्वास्थ्य समस्या देखापर्दै जान्छ र मृत्युसम्मको जोखिम समेत हुन्छ। तर, नवजात शिशुमा नै यस्तो परीक्षण गरी रोगको पहिचान गरेको लखण्डमा सुस्त मनस्थिति र मृत्युजस्ता समस्याबाट बचाउन सकिने अस्पतालका निर्देशक डा. अधिकारीले जानकारी दिए।

अस्पतालले गर्भवती महिलाको बच्चाको अवस्थाबारे पहिचान गर्न अल्ट्रासाउण्ड मार्फत परीक्षण गर्दै आएको आएको निर्देशक डा. अधिकारीले जानकारी दिए। उनका अनुसार महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको छ।

गर्भवती तथा सुत्केरी महिलाहरूमा मानसिक तनाव (स्ट्रेस एनजाईटी) र  उदासीनता (डिप्रेशन) जस्ता मानसिक समस्याहरूको जोखिम अझ बढी हुने उनले बताए। विकसित देशको तथ्यांक हेर्दा करिब दश प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरूमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ।

नेपाल जस्ता न्यून आय भएका देशहरूमा करिब २० प्रतिशत गर्भवती तथा सुत्केरी महिलामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको डा. अधिकारीले बताउँछन्। त्यसैगरि सुत्केरीपछिको एक वर्षभित्र मृत्यु हुने महिलामध्ये २० प्रतिशतले हामहत्या गर्ने गरेको देखिएको उनले बताए।

असोज २१, २०८१ सोमबार १४:०३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।