कोशी ब्यारेजमा पानीको बहाव ३७ वर्षयताकै उच्च, पुलमाथिबाटै पानी बग्न थालेपछि आवतजावतमा रोक

कोशी ब्यारेजमा पानीको बहाव ३७ वर्षयताकै उच्च, पुलमाथिबाटै पानी बग्न थालेपछि आवतजावतमा रोक

काठमाडौं : सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ। 

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए। 

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ। 

सुनसरीका डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले साँझ ५ः०० बजे प्रतिसेकेन्ड पाँच लाख ५७ हजार क्युसेक नाघेको छ। पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए। 

साथै, सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोकासमेत खोलिएको छ। बाढी कोशीको पुलमाथिबाट पनि बगेको छ। 

कोशी ब्यारेजमा शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो। 

असोज १२, २०८१ शनिबार १८:१५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।