श्रीमान्ले आफूमाथि कुटपिट गरेको रिसमा २ छोरीलाई विष खुवाएर अस्मिता आफूले पनि खाइन्, छोरीहरू बाँचेनन्

श्रीमान्ले आफूमाथि कुटपिट गरेको रिसमा २ छोरीलाई विष खुवाएर अस्मिता आफूले पनि खाइन्, छोरीहरू बाँचेनन्

विराटनगर : केरा बगानभित्र मृत भेटिएका दुई बालिकाको हत्या आरोपमा उनीहरूकै आमा अस्मिता विक्षिप्त अवस्थामा फेला परेकी छिन्।

सुन्दरहरैँचा–७ को एक केरा बगानमा ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिवार दिउँस मृत फेला परेका थिए। उनीहरूकी आमा अस्मिता चार दिनपछि विक्षिप्त अवस्थामा फेला परिन।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्रीमानसँग विवाद भएपछि छोरीहरू लिएर घर बाहिर निस्किएकी उनले आफूसँगै दुवै छोरीलाई विष खुवाएकी थिइन्। छोरीहरूको मृत्यु भयो। तर विषको असरले उनी विक्षिप्त भइन्।

विक्षिप्त अवस्थामा फेला परेकी उनलाई प्रारम्भमा प्रहरीले कोशी अस्पतालमा उपचारका लागि लगेको थियो। बुधवार बिहान पक्राउ परेकी उनलाई प्रहरीले दिउसो सार्वजनिक गरेको थियो।

२९ वर्षीया अस्मिताले प्रहरीसँगको प्रारम्भिक बयानमा श्रीमानले टर्चर दिएपछि दुवै छोरी लिएर घरबाट हिँडेको दाबी गरेकी छिन्। उनी घरबाट निस्किएको दिन नयाँ बनाइरहेको घरमा पानी नहालेको विषयमा विवाद भएको थियो।

विवाद बढेपछि छोरी लिएर हिँडेकी उनी फेला परिनन्। भोलिपल्ट दुई छोरी भने केराघारीमा मृत अवस्थामा फेला परेका थिए। बुधवार उनी बिर्तामोड नगरपालिका-५ पूर्वपश्चिम-राजमार्ग नजिक एभरेस्ट बैङ्क अगाडि फेला परेकी थिइन्।

प्रहरी बयानमा उनले गरेको दाबी अनुसार पहिला उनले विष सेवन गरेकी थिइन्। दुई छोरीलाई मार्ने कुनै उद्देश्य थिएन। विष पिएपछि छाती पोल्न थालेपछि आफू मरेपछि दुवै छोरीको बिचल्ली हुन्छ भनेर उनीहरूलाई पनि विष पिलाएको तर उनीहरूको मृत्यु भए पनि आफू बाँचेको उनले दाबी गरेकी छिन्।

उनका श्रीमानले पहिला नै दुवै छोरीको हत्या गरेर फरार रहेको किटानीसहित उनी विरुद्ध कर्तव्य ज्यानको जाहेरी दिइसकेका छन्। प्रहरीले उनलाई सोही अभियोगमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

भदौ १९, २०८१ बुधबार १९:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।