नेपालकै पुरानो भन्सार भद्रपुरबाट निर्यात सुन्य, भारतबाट आयात मात्रै हुन्छ नाकामा

नेपालकै पुरानो भन्सार भद्रपुरबाट निर्यात सुन्य, भारतबाट आयात मात्रै हुन्छ नाकामा

झापा : मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकामा ६ वर्षदेखि निर्यात व्यापार शून्य छ। सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति भएको छैन। अनि नेपालबाट निर्यात समेत हुन सकेको छैन।

यो नाका अहिलेको भने हैन, विसं २००७ साल अघि नै राणाकालीन व्यापारिक नाकाका रूपमा परिचित थियो। यो नेपालै पुरानो भन्सार नाका मानिन्छ। तर विसं २०७५ भदौ १९ मा मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको थियो। मुख्य भन्सारको मान्यता पाएसँगै कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढ्यो। तर निर्यात सम्भव भएन। 

नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन। गलगलिया अहिले पनि छोटी भन्सारका रूपमा सञ्चालन भइरहेको छ। त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा छैन।

विसं २००७ पछि भद्रपुर नाका नेपालबाट भारतमा चामल, काठलगायतका सामान निर्यात गर्ने मुख्य नाकाका रूपमा चिनिन्थ्यो। काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लाग्यो। आर्थिक वर्ष २०७६/७७ देखि गत २०८०/८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताए।

उनका अनुसार आव २०७६/७७ मा १४ करोड ४९ लाख, आव २०७७/७८ मा २७ करोड ३४ लाख, आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा नौ करोड ४७ लाख र आव २०८०/८१ मा २४ करोड ३४ लाख राजस्व असुली भयो।

चालू आव २०८१/८२ मा भद्रपुर भन्सारले ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ। आव २०८०/८१ मा १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो।    

विगत पाँच वर्षमा असुली भएको ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुल बापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात भएको छैन।

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो। तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित छ।  सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा छ।

गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन। स्थानीय व्यवसायीका अनुसार पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउन गलगलिया भन्सारले दिएको छैन।

पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन्।    

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपुर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरू आयात हुने गरेको छ।

झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गर्ने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौँ मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताए।

‘भारतीय पक्षलाई विभिन्न माध्यमबाट गलगलिया भन्सारको स्तरोन्नति गर्न दबाब दिइरहेका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘यही दबाबका कारण भारतको विहार सरकारले गलगलिया भन्सारलाई स्तरोन्नति गर्दै भन्सार कोड प्रदान गरेको खबर आएको छ। अब चाँडै निर्यात व्यापारका लागि ढोका खुल्ने आशा गरेका छौँ।’
    
नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो। विसं २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ। नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ।

भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन्। कुमरखोदबाहेक अरू छोटी भन्सारको गतिविधि ठप्प रहेको छ।

-रासस

भदौ १०, २०८१ सोमबार २२:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।