संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा, कारण- ‘२२ लाखमा अष्ट्रेलिया’
 
                    
                    
                    
                    काठमाडौं : नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ।
गैर कलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया पठाउन लागेको विषयमा अनुसन्धानका लागि नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
उनले भने, ‘गैरकलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया पठाउन लागेको सूचना आएको थियो,’ एसपी मिश्रले उकेरासँग भने, ‘त्यहि विषयमा अनुसन्धान गर्नका लागि अफिसका कागजात र कम्प्युटरको सीपीयू बरामद गरेका छौँ। बुझ्ने काम हुँदैछ।’
एसपी मिश्रका अनुसार यस सन्दर्भमा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको समेत बताए।
‘अहिले नै कसैलाई पक्राउ गरिसकेको अवस्था छैन,’ उनले थपे, ‘डकुमेन्ट र सीपीयूबाट आएको सूचना र थप अनुसन्धानपछि पक्राउको अवस्थामा पुग्छौँ। सोधपुछको पक्रिया थाल्छौँ अब।’
नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर सहितका पदाधिकारीले ३७ जना गैर कलाकारबाट २२ लाख रुपैयाँ लिई कलाकार बनाएर अष्ट्रेलिया लैजान लागेको सूचनाका आधारमा प्रहरीको मानव बेचबिखन ब्यूरो सक्रिय बनेको थियो।
दशैंको अवसरमा संघले अष्ट्रेलियामा गर्ने कार्यक्रमको लागि भन्दै उनीहरूलाई अष्ट्रेलिया लैजाने र लुकेर त्यहि बस्ने वातावरण समेत मिलाइदिने भनिएको दाबी छ।
भदौ ५, २०८१ बुधबार १२:५४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    