एक महिना गुप्तवास बसेका धामीझाक्री बाहिर निस्किए, धार्मिकस्थलमा गरे 'बिद्धे प्रार्थना'

एक महिना गुप्तवास बसेका धामीझाक्री बाहिर निस्किए, धार्मिकस्थलमा गरे 'बिद्धे प्रार्थना'
नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिँदै आएको चाँगुनारायण नगरपालिका‐६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात रत्नचुडेश्वर महादेव मन्दिरमा सोमबार जनैपूर्णिमामा पूजाअर्चना गर्न आएका भक्तजन।

खोटाङ : जनै पूर्णिमा अनि रक्षा बन्धन पर्वको दिन धामीझाक्रीमा विश्वास गर्ने र अपनाउनेहरूका लागि समेत बिद्धे(ज्ञान) प्राप्त गर्न विशेष प्रार्थना गर्ने दिन हो। आज सोमबार उनीहरू गीतमा ढोल, झ्याम्टा र ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएर नाच्छन्।

साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन खोटाङको धार्मिकस्थलहरुमा भेला भएर नुहाउँदै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गरिरहेका छन्।

गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता मान्ने मान्यता छ। सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन्।

महिनादिनसम्म गुप्तवास बसेका धामीझाँक्री आज सोमबार बिहानदेखि जिल्लाका बराहपोखरी, भुलभुले दूधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गालगायत धार्मिक तथा पर्यटकीयस्थलमा बिहानदेखि भेला भए।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नाका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवं पर्यटकीयस्थल भालुखोलामा आइतबारदेखि नै धार्मिक मेला लागेको छ।    

ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ। परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताए।

श्रावण शुल्क पूर्णिमाको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने धार्मिक एवं पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन्। श्रावण शुल्क पूर्णिमाका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवं भक्तजनको सङ्ख्या वृद्धि भएको छ।    

धार्मिक तथा पर्यटकीयस्थलमा गएर दिनभर नाचगान गरेका धामीझाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकल रुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन्।    

त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने) प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए।

पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित दशवटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ।

सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताए।

भदौ ३, २०८१ सोमबार १५:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।