अख्तियार आयुक्त अमात्यको बदमासी : महानगरले भत्काएकै ठाउँमा लगाइन् पर्खाल, बयानको पत्रले चिरिबाबु मौन

अख्तियार आयुक्त अमात्यको बदमासी : महानगरले भत्काएकै ठाउँमा लगाइन् पर्खाल, बयानको पत्रले चिरिबाबु मौन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सुमित्रा अमात्यले मन्दिरको जग्गामा पर्खाल लगाएको भन्दै ललितपुर महानगरपालिकाले भत्काइदियो।

असार १९ मा महानगरले ललितपुर-१० चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको थियो। अमात्य समुदायको कुल देवताको मन्दिर रहेको उक्त क्षेत्र(गुठी)को जग्गा सुमित्रा दम्पतीले हड्पेको भन्दै मेयर चिरिबाबु महर्जनसहितको महानगरको टोली अतिक्रमित भूभागको भौतिक संरचना भत्काउन गएको थियो।

महानगरको टोली पर्खाल भत्काएर फर्कियो। अहिले आयुक्त अमात्यले पहिला जहाँ थियो त्यही पुनः पर्खाल लगाएकी छिन्। आयुक्त अमात्यले पहिलाकै ठाउँमा पर्खाल बनाइरहेकोबारे ललितपुर महानगरपालिका जानकार छ। तर जानकारी नै नभए जस्तै गरेर मौन बसेको छ।

ललितपुर महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईँले अमात्यले पुन पर्खाल लगाएको बारे महानगरलाई जानकारी नभएको दाबी गरे।

‘भत्काएकोसम्म जानकारी छ। पुन लगाएको विषयमा जानकारी भएन। महानगरसँग पनि कुनै समन्वय भएको छैन। बाँकी प्रवक्ताजीसँग बुझ्नुहोला’ उनले भने।

यस विषयमा मेयर चिरिबाबुसँग बुझ्न खोज्दा उनका निजी सचिवालयका सदस्यले भेट्न दिएनन्। मेयर महर्जनको सचिवालय पुग्दा ती कर्मचारीले ‘यो विषयमा मेयर साब बोल्नु हुन्न। त्यो जग्गाबारे सुन्नै चाहनुहुन्न। हामीलाई पर्खाल लगाएको विषय जानकारीमा पनि आएकै छैन’ भन्दै भेट्न दिएनन्।

गुठीको जग्गा मिचेर घर
डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले २०७८ असोज १ मा १५ आना ३ पैसा क्षेत्रफलमा रहेको घरजग्गा किनेर सरेका थिए। यही बिचमा उनीहरूले पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल लगाए।

नयाँ पर्खाल लगाएपछि गुठीको जग्गा मिचेको भन्दै २०८० माघ ५ मा महानगरमा उजुरी परेको थियो।  सोही उजुरीको छानबिनको क्रममा गुठीको जग्गामा पर्खाल लगाएको पुष्टि भएको भन्दै महानगरले भत्काइदिएको थियो। स्थानीय सुरेश अमात्यले गुठीको जग्गा मिचेको बताउँछन्।

‘पहिला गुठीको जग्गा ४ रोपनी थियो। यो विवाद भएपछि सुमित्रा अमात्यले नाप्दा ३ रोपनी जति मात्रै रहेको देखियो। यहाँ एक जनाको मात्रै गुठी छैन २०, २२ जनाको गुठी होला। २,३ जनाले मिचेर घर बनाएका छन्’ उनले भने।

त्यस्तै, गुठीमा आइरहने बानेश्वरका भरत अमात्यले अख्तियारको आयुक्तको शक्ति प्रयोग गरेर गुठीको जग्गा मिचेको बताउँछन्।

‘२ बर्षजति भयो उहाँहरूले घर बनाएको। उनीहरूले आफैले गुठीको जग्गामा भवन पनि बनाएका छन्। हाम्रो भोज हुँदा बसेर खाने ठाउँमा भवन बनाएर प्रहरीलाई राखेका छन्’ उनले भने।

मेयरलाई अख्तियारको पत्र
मेयर चिरीबाबुको निर्देशनमा आयुक्त अमात्यको पर्खाल भत्काएको भोलिपल्ट उनको नाममा अख्तियारको पत्र आयो। पत्र पर्खाल भत्काएकोबारे नभई भ्रष्टाचारको उजुरी सम्बन्धी थियो।

२०८० असार १ मा धापाखेल वडा नम्बर २४ मा पहिरो गयो। पहिरोले केही घर भत्काएको थियो। घरबारविहीनलाई क्षतिपूर्ति स्वरूप साढे २ लाख र घरमा क्षति पुगेका परिवारले महानगरले राहत स्वरूप डेढ लाख वितरण गरेको थियो।

मेयर चिरिबाबुले २३ लाख रुपैयाँ आफूखुसी फर्स्यौट गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। महानगरले निजी विद्यालयलाई आर्थिक सहयोग गरेको र गैरकानुनीरुपमा प्रेस सहयोगी राखेको लगायतका थप उजुरी समेत परेको थियो।

तर, आयुक्त अमात्यको पर्खाल भत्काएको भोलिपल्टै अख्तियारबाट उनलाई भदौ २६ र २८  तोकेर अख्तियारमा बयानका लागि पत्र काटिएको थियो।

अमात्य परिवार सो जग्गा विवादमा अदालतमा रिट बोकेर गएको समेत देखियो। अदालतबाट कुनै फैसला आएको छैन। यता बयानका लागि पत्र आएपछि चिरिबाबु पनि मौन छन्। उता अमात्यले आफूखुसी पुन पर्खाल लगाइन्।

साउन ३१, २०८१ बिहीबार १९:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।