आज साउन महिनाको अन्तिम सोमबार, पशुपति लगायत देशभरका शिवालयमा घुइँचो

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार। काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा हिन्दु श्रद्धालुहरूको घुइँचो लागेको छ।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।
साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ। बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ।
विशेषगरी आज काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुहरूको पनि घुइँचो लागेको हो।
ज्योतिषशास्त्रअनुसार साउने सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लागेको छ।
साउन २८, २०८१ सोमबार ०७:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।