अनलाइन ठगी गर्ने नौ जना प्रकाउ
 
                    
                    
                    
                    हेटौंडा : हेटौंडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा ‘मेडि असिष्ट’ नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो।
छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेश कुमार दुवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन्।
यी सबै भारतका विभिन्न राज्यका बासिन्दा हुन्।
छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटर लगायतका उपकरणहरू बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य अनुसार यो गिरोहले गत वर्ष फागुन १० गते हेटौंडा उपमहानगरपालिकामा द्रबिन कुमार सिंहको नाममा ‘मेडि असिष्ट’ कम्पनी दर्ता गरेको थियो।
कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भए पनि वास्तवमा अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए।
प्रहरीले यस कम्पनीमा १२ जना भारतीय नागरिकहरू कार्यरत रहेको र तीमध्ये ३ जना फरार रहेको उनले जानकारी दिए।
अनुसन्धानका क्रममा यो गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको ‘द्रुत कल क्लाइन्ट सफ्टवेयर’ प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताए।
यस सफ्टवेयर मार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको उनले बताए।
प्रहरीले यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसुर मानेको छ।
साउन २३, २०८१ बुधबार १४:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    