इसेवाबाट पैसा पठाउँदा अब १० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं : भुक्तानी सेवा प्रदायक इसेवाबाट पैसा पठाउँदा अब शुल्क लाग्ने भएको छ।
नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन भएसँगै इसेवाले यस्तो नियम बनाएको हो।
निर्देशनमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन।’
निर्देशन जारी भएसँगै इसेवाले अगस्ट १, २०२४ देखि इसेवाको ‘सेन्ड मनी’ सेवा प्रयोग गर्दा शुल्क तोकेको हो। उसका अनुसार ‘सेन्ड मनी’ कारोबार दिनमा ३ पटक गरि महिनामा ३० पटक सम्म नि:शुल्क रहनेछ र १ सय रुपैयाँभन्दा मुनिका सबै कारोबार निःशुल्क रहनेछन्।
त्यसबाहेक सबै ‘सेन्ड मनी’ कारोबारमा प्रति कारोबार १० सेवा शुल्क लागू हुने इसेवाले जनाएको छ।
व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इसेवाले सुझाव दिएको छ।
व्यावसायिक खातामा क्यू आर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क नलाग्ने समेत कम्पनीले जनाएको छ।
साउन १८, २०८१ शुक्रबार ०८:०८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।