‘मोदीबेनी’को प्रिमियरमा छल्किएको रेजिनाको खुशी

काठमाडौं : कुनै समयकी चल्तीकी अभिनेत्री रेजिना उप्रेती एक दशक नेपाली फिल्म क्षेत्रबाट गायब भइन्। विवाह बन्धनमा बाँधिएपछि फिल्म क्षेत्रलाई चटक्कै माया मारिन्।
रेजिना फिल्म क्षेत्रबाट पलायन भएको समाचार र गसिपले समाचारका पानाहरू भरिए। विवाह गरेका अधिकांश अभिनेत्रीहरू पुनः फिल्ममा फर्केको कमजोर विगतका बीच धेरैलाई लागेको थियो, अब उनी फिल्ममा फर्किनन्।
तर, रेजिनाले सबैलाई मात खुवाएर एक दशपछि फिल्म क्षेत्रमा कमब्याक गरेकी छन्। एक दशकभन्दा लामो समय फिल्मको पर्दा बाहिर रहँदा पनि उनको जोस र चाहनामा कमी छैन, अझ पहिलाको भन्दा झन् परिपक्व भएर आएकी छन्। फिल्ममा उनी वर्षा शिवाकोटीकी आमाको भूमिका निर्वाह गरेकी छन्।
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको उनी अभिनित फिल्म ‘मोदीबेनी’को बुधबार प्रिमियर भयो। आफ्नो कमब्याक फिल्मको प्रिमियरमा रेजिना खुसी देखिन्थिन्।
उनी घरि आफ्नो अभिनय कस्तो भयो भन्दै उपस्थित कलाकार तथा पत्रकार सोध्थिन् भने घरि फिल्म हेर्दा दर्शकको पैसा खेर नजानेमा ढुक्क हुन आग्रह गर्थिन्। सञ्चारकर्मीमाझ पनि उनी खुलेर फिल्म सुटिङको अनुभव सुनाइरहेकी थिइन्।
साउन १७, २०८१ बिहीबार १३:१२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।