स्वास्थ्य मन्त्रीको अन्तरक्रिया : सहभागीका कुरा सुनिरहे, ‘सुझाव र समाधानका लागि धन्यवाद’ भन्दै उठेर हिँडे

स्वास्थ्य मन्त्रीको अन्तरक्रिया : सहभागीका कुरा सुनिरहे, ‘सुझाव र समाधानका लागि धन्यवाद’ भन्दै उठेर हिँडे

काठमाडौं : मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री प्रदीप पौडेलले अन्तरक्रिया कार्यक्रम आयोजना गरे। कार्यक्रममा विभिन्न सञ्चार सम्बन्धी रिपोर्टिङ गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति थियो।

कार्यक्रमको सुरुमा मन्त्री पौडेलले आफ्नो भनाइ राखेर समस्यासँगै समाधानको उपाय समेत बताइदिन आग्रह गरे। सोही अनुसार सञ्चारकर्मीहरूले आफ्ना जिज्ञासा, सुझाव र समाधानका उपाय राखे।

सञ्चारकर्मीहरूले गेटा मेडिकल कलेज, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायतका स्वास्थ्य संस्था तथा अस्पतालमा मेसिन औजार तथा उपकरण खरिदमा भएको अनियमितताको विषयमा जिज्ञासा राखे।

उकेराकर्मीले गेटा अस्पतालमा करिब ८० करोड बराबरको स्वास्थ्य सामग्री र उपकरण निश्चित उत्पादक कम्पनिकको उत्पादनसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर टेण्डर कमिशनको खेलमा चाहेकै सप्लायर्स कम्पनिलाई टेण्डर दिएको बारे जिज्ञासा राखेको थियो।

त्यसैगरी स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले गत आर्थिक वर्ष (२०८०/०८१) करिब चार अर्ब ३६ करोड रकमको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीको टेन्डरमा भएको अनियमितता बारेको पनि सञ्चारकर्मीले जिज्ञासा राखे।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले एमबीबीएस सञ्चालनका लागि आशयपत्र पाउन अझै चार वर्ष कुर्नुपर्ने भए पनि ऐन विपरित न्याम्सका पदाधिकारीहरूले भने कोर्स नै बनाएर बजेटको समेत व्यवस्थापन भइसकेको विषय पनि सञ्चारकर्मीले उठाए।

त्यसैगरी वीर अस्पताल न्याम्सले चलाएको छ की स्वास्थ्य मन्त्रालयले? उपकुलपतिको काम शैक्षिक कार्यक्रम सञ्चालन गर्ने हो की मेसिन, औजार तथा उपकरण लगायतको खरिदको काम गर्ने हो? अनि वीर अस्पताल निर्देशकले चलाउने हो की उपकुलपतिले? न्याम्स र वीर छुट्याउने की नछुट्याउने? जस्ता जिज्ञासा पनि सञ्चारकर्मीले राखेका थिए।

अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखले निजि स्वास्थ्य संस्था (प्राइभेट प्राक्टिस)मा कामै गर्न नपाउने नियम भएपनि गरिरहेका छन् भन्दै यस्तो नियम विपरीतको काम किन भइरहेको छ? भन्ने सञ्चारकर्मीको जिज्ञासा थियो। अस्पतालमा बेड निशुल्क गर्दा राज्यलाई वार्षिक साढे १४ करोड आर्थिक भार परेको विषय पनि उठेको थियो।

त्यसैगरी बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले करिब २५ करोड २४ लाख ५४ हजारमा खरिद गरेको लिन्याक मेसिनको ६० प्रतिशत भुक्तानी भइसकेको खरिद अनियमितताको विषयलाई पनि सञ्चारकर्मीले उठाएका थिए।

स्वास्थ्य सचिव रोशन पोख्रेल र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. कृष्णप्रसाद पौडेलको कमिसन सेटिङमा अगाडि बढेको बढीमा २३ करोडमा आउने एमआरआईको टेण्डर उनीहरूले चाहेकै कम्पनीलाई साढे २९ करोडमा खरिद गरेको विषय पनि पत्रकार अन्तरक्रियामा उठेको थियो।

भरतपुर अस्पतालले २९ करोड ५८ लाख ६५ हजारमा इष्ट वेष्ट कन्सर्नसँग नै ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिद गर्ने निर्णय गरेको थियो भने स्रोतका अनुसार अस्पतालमा मेसिन आइसकेको छ। त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर सिटी स्क्यान मेसिन खरिद गरेको विषय पनि पत्रकार अन्तरक्रियामा उठेको थियो।

कर्मचारीलाई दरबन्दी अनुसारको काम नदिने अनि बिरामीको उपचार गर्न जागिर खुवाइएका चिकित्सकलाई अस्पताल तथा स्वास्थ्य संस्थाका प्रखुमको जिम्मेवारी दिएर खरिद प्रमुख जस्तो बनाइएको विषयमा कुनै नीतिगत निणय गर्न आवश्यक छ की छैन्? भन्ने लगायतका विषयमा मन्त्री पौडेललाई उकेराले जिज्ञासा राखेको थियो।

मन्त्री पौडेलले सञ्चारकर्मीले राखेका जिज्ञासा र प्रश्नलाई ध्यानपूर्वक सुने पनि सबै प्रश्नको ठोस रूपमा जवाफ दिएनन्। यद्यपि उनले आफूले अझै बुझ्न बाँकी रहेको र बुझेर मात्र निर्णय गर्न चाहेको बताए।

‘अलिकति बुझेर अलि दिर्घकाकलीन रुपमा सकारात्मक असर पर्नेगरी निर्णय गरौँ भन्ने सोचेर मैले पर्खिरहेको हो,’ उनले भने, ‘आगामी दिनमा कमी कमजोरीका विषयमा सुधार्ने मौका दिएर समाचार सम्प्रेषण गरिदिनुहोला।’

फरक प्रसङ्गमा मन्त्री पौडेलले राष्ट्रिय ट्रमा सेन्टरको मोडुलर अप्रेटिङ थिएटर (ओटी) दुई पटक उद्घाटन नगरेको दाबी गरे।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले स्वास्थ्य मन्त्री पौडेललाई ट्रमा सेन्टरको मोडुलर अप्रेटिङ थिएटर (ओटी)को दुई पटक उद्घाटन गराएको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो।

सञ्चारकर्मीले सोधेको प्रश्न, जिज्ञासा र सुझाव ध्यानपूर्वक सुनेपछि उनले सबैलाई धन्यवाद दिएर बिदाइ भए।

‘मन्तव्य, सुझाव र समाधान दिनुभएकोमा सम्पूर्ण साथीहरुप्रति हार्दिक आभार गर्न चाहन्छु,’ उनले थपे, ‘म तपाईंहरुसँग सम्पर्कमै रहनेछु। हामी तपाईंहरुसँग एकदमै धेरै समन्वय र समन्वय गर्ने कोसिस गर्नेछौँ।’

साउन १५, २०८१ मंगलबार २१:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।