फ्यानका कारण कोपा अमेरिकाको फाइनल ७७ मिनेट ढिला

फ्यानका कारण कोपा अमेरिकाको फाइनल ७७ मिनेट ढिला

काठमाडौं : स्टेडियम बाहिर भएको भिड व्यवस्थापन हुन नसक्दा कोपा अमेरिका फुटबलको फाइनल खेल ७७ मिनेट ढिलो गरी सुरु भएको छ।

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा कोलम्बिया र अर्जेन्टिनाको खेलअघि टिकट विनाका समर्थकले सुरक्षा उल्लंघन गरेपछि खेल निर्धारित समयमा सुरु हुन नसकेको हो।

प्रशंसकले टिकट नपाएपछि उनीहरू जबरजस्ती स्टेडियम प्रवेश गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुवै टिमको जर्सी लगाएका समर्थकहरू भागदौड गरिरहेको देख्न सकिन्छ।

ठूलो भागदौड भएपछि मियामी पुलिसले स्थानीय समयअनुसार ८ बजेर १० मिनेटमा स्टेडियमको गेट बन्द गरेको थियो। भागदौडका क्रममा केही समर्थक घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

गेट बन्द गरेपछि केही समर्थकहरू गेट माथिबाट चढेर स्टेडियम प्रवेश गरेका थिए। तीन प्रहरी अफिसर स्टेडियम पुगेर सिटम बसेका एक कोलम्बियाका समर्थकलाई हतकडी लगाएका थिए।

करिब एक घण्टापछि परिस्थिति सामान्य बनेपछि अमेरिकी समयअनुसार ८ बजे सुरु हुनुपर्ने खेल राति ९ बजेर २२ मिनेटमा सुरु भएको हो।

हाफ टाइमसम्म दुवै टोलीले कुनै पनि गोल गर्न सकेका छैनन्।

असार ३१, २०८१ सोमबार ०८:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।