फुटबलमा भविष्यवाणी गर्ने एक तस्बिर: जब मेसीले थाहै नपाई भावी स्टारलाई अँगालेका थिए

एजेन्सी : लियोनेल मेसीले एक बालक बोकिरहेको तस्बिर एकाएक चर्चित भयो। मेसीले नाबालकलाई काखमा बोकिरहेको त्यो तस्बिर अहिलेका चर्चित अर्का युवा फुटबलर लसिन यमालको भएको दाबी सार्वजनिक भए। एआईले भने जस्तै तस्बिर बनाइदिने अहिलेको अवस्थामा धेरैले तस्बिरको स्रोतमाथि शङ्का गरे।
तर अन्तमा त्यो तस्बिर मेसी र यमालको भएको पुष्टि भयो। यमालका बुबाले सार्वजनिक गरेको त्यो तस्बिर सन् २००७ मा अर्जेन्टिनी युवा स्टार फुटबलर मेसीले एक च्यारिटी क्यालेन्डरका लागि फोटो शूटका क्रममा खिचेको पुष्टि भयो।
त्यो तस्बिर बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा खिचिएको पुष्टि पनि भयो।
त्यो बेलामा मेसी २० वर्षका मात्र थिए। तर फुटबल जगतमा एउटा नयाँ स्टारको परिचय बनाइसकेका थिए। उनी 'सर्वकालीन महान्' खेलाडी बन्ने यात्रामा थिए।
यो तस्बिर जोआन मोन्फोर्टले खिचेका हुन्। उनी एसोसिएटेड प्रेसका लागि फ्रिलान्स फोटोग्राफरको रूपमा काम गर्छन्।
उनका अनुसार बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघीय संस्था युनिसेफले स्पेनको मातारो कस्बामा च्यारिटी लट्रीको आयोजना गरेको समयमा यो तस्बिर खिचिएको थियो।
अनुसार यमालको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लट्रीमा सहभागी थिए। मेसी लकर रुमबाट बाहिर आइरहेका थिए तर गल्तीले उनी अर्को लकर रुममा पसे। त्यहाँ पानीले भरिएको प्लास्टिकको टबमा एउटा बच्चा थियो। मेसीले बच्चा उठाए। मोन्फोर्टले तस्बिर खिचे।
‘मेसी निकै लजालु स्वभावका थिए। तस्बिरहरू खिच्न निकै जोखिम थियो।जब मेसीले बच्चा चा उठाए उनलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन’ मोन्फोर्टले भने।
त्यो बेलामा खिचेका केही तस्बिरमा मेसीसँग यमालकी आमा पनि देखिएकी छिन्।
एकाएक भाइरल भएको तस्बिर
यो तस्बिर यमालका बुबाले इन्स्टाग्राममा राखेर ‘दुई महान् व्यक्तिको सुरुवात’ लेखेका थिए। मेसीलाई त अधिकांशले चिने तर उनको काखमा भएको नाबालकलाई कसरी चिन्नु!
युरो कपको सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको गोलका कारण यमाल चर्चामा आए। १६ वर्ष र ३६२ दिनको उमेरमा यमाल, युरो कपको इतिहासमा सबैभन्दा कम उमेरका गोल गर्ने खेलाडी बने।
तस्बिर सार्वजनिक भएपछि मेसीको काखमा भएको बच्चाबारे खोजी शुरुहुँदा उनी यमाल भएको पुष्टि भयो जो मेसी जस्तै बार्सिलोना क्लबका लागि फुटबल खेलेका थिए। उनी स्पेनिस लिगमा पनि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।
गत हप्ता फोटो भाइरल हुन थालेपछि मात्र फोटो खिच्ने मोन्फोरले मेसीको काखमा रहेको बच्चा नै अहिलेका यमाल रहेको चाल पाए।
उनले भने, ‘साँच्चै भन्नुपर्दा यो धेरै खुसीको अनुभूति हो।’
फुटबल दुनियाँका नयाँ स्टार
यमालकी आमा इक्वेटोरियल गिनीकी हुन् अनि बुबा मोरक्कोका हुन्। तर उनी स्पेनबाट खेल्छन्। उनी बार्सिलोनामा जन्मिए, त्यहीँ हुर्के र ला मासिया एकेडेमीमा प्रशिक्षण लिए।
युरो कपमा फ्रान्सविरुद्ध गोल र क्रोएसिया, जर्जिया, जर्मनीविरुद्ध गोल गर्न उनले गरेको सहयोगले फुटबल पारखीको नजरमा परिहाले उनी।
उनले आइतबार इङ्गल्यान्डविरुद्ध फाइनल खेल्नेछन्। लगत्तै एक दिनपछि उनी १७ वर्षका हुनेछन् र युरो कप वा विश्वकपको फाइनलमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्।
विश्वकपको फाइनलमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडीको रेकर्ड पेलेको नाममा छ। उनी सन् १९५८ मा ब्राजिलले स्विडेनलाई ५-२ ले हराउँदा पेले १७ वर्ष र २४९ दिनका थिए। यस खेलमा पेलेले दुई गोल गरेका थिए।
१६ वर्ष र ३६१ दिनको उमेरमा यमाल, युरो कपको इतिहासमा सबैभन्दा कम उमेरका गोल गर्ने खेलाडी बनिसकेका छन्।
योसँगै उनी बार्सिलोनासँग लिग खेल सुरु गर्ने सबैभन्दा कम उमेरका (१६ वर्ष ३८ दिन) खेलाडी हुन्, ला लिगामा उनी इतिहासका सबैभन्दा कम उमेरका (१६ वर्ष ८७ दिन) गोलकर्ता हुन्।
अब यी सबै रेकर्डहरू तोड्न कसैका लागि पनि त्यति सहज पक्कै हुनेछैन।
असार २९, २०८१ शनिबार १६:०३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।