वर्षाका कारण दिल्ली विमानस्थलको छत खस्यो, छ जना घाइते

वर्षाका कारण दिल्ली विमानस्थलको छत खस्यो, छ जना घाइते

काठमाडौं : दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण खसेको छ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन्। सवारीसाधन र ट्याक्सीमा खसेको छतका कारण केही मानिस त्यसमा पुरिएका थिए।

घटनापछि दिल्ली फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थल पुगेका थिए। एयरपोर्टको छत बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।

नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा स्थितिको व्यक्तिगत रूपमा निगरानी गरिरहेको र घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिए।

दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, ‘बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएको रिपोर्ट गरिएको छ। सबै घाइतेहरूलाई आकस्मिक उपचारका लागि अस्पताल पठाइएको छ।’

घटनापछि टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् भने सुरक्षा कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ।

दिल्लीमा भारी वर्षापछि दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसमविद्को भनाइ छ।

असार १४, २०८१ शुक्रबार १०:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।