पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको ज्यान गयो

एजेन्सी : पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम वृद्धिपछि हजारौँलाई अस्पतालमा भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन्। मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको बताइएको छ।
पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ।
मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउनसक्ने पूर्वानुमान गरेको छ।
असार १२, २०८१ बुधबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।