सर्प पाल्दा भ्रष्टाचार, मधेसका अर्थमन्त्रीसहित पाँच जना दोषी ठहर

काठमाडौँ : विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर गर्दै मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित ५ जनालाई दोषी ठहर गरेको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यादवसहित खनाल प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई दोषी ठहर गर्यो।
अभियोग लागेका मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्काले भने सफाइ पाएका छन्।
प्रतिष्ठानको कार्यालय सर्लाहीको लालबन्दीमा छ। सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सङ्घीय सरकारबाट समपूरक अनुदानका रूपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो।
आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरेर प्रतिष्ठानसँग साझेदारी गरेर बदनियतपूर्वक १७ करोड ९८ लाख निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अदालतले ५ जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको छैन। असारमा २५ मा सजाय तोक्न इजलास बस्नेछ।
असार ११, २०८१ मंगलबार २२:२२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।