कलाकार रोहित कार्कीको हिजोको कुरा : वैद्य बाले मदनदासलाई चिनाएपछि फ्याट्टै रेडियो नेपालमा काम पाइहालेँ

पाँच दशकअघि सिन्धुपाल्चोकमा जन्मिएका हुन् कलाकार रोहित कार्की। रेडियो नेपालमा नाटक खेल्दै चर्चित हास्य टेलिश्रृंखलाहरू ‘हिजो आजको कुरा’, ‘तितो सत्य’, ‘जिरे खुर्सानी’मा काम गरिसकेका उनी अहिले पनि अभिनयमै सक्रिय छन्। आजकल उनी ‘कान्छी’, ‘भुन्टी’, ‘बुहारी’ जस्ता सिरियलहरूमा अभिनय गरिरहेका छन्।
तीस वर्षअघि विश्व बस्नेतको फिल्म ‘एकादेशमा’बाट फिल्मी करिअर सुरु गरेका रोहितले ‘बुवाआमा’ हुँदै पछिल्लो समय ‘जात्रै जात्रा’मा समेत काम गरे। आधा दर्जनभन्दा बढी फिल्ममा काम गरेको अनुभव छ उनीसँग।
रोहितले थाहा पाउँदा देशमा पञ्चायती व्यवस्था थियो। आफ्नै काका उपप्रधानपञ्च थिए। काकाकै अगुवाइमा गाउँका बालबालिकालाई पढाउनका लागि वि.सं. २०१० मा गाउँमा विद्यालयको स्थापना भएको उनको दाबी छ।सोही विद्यालयबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरे उनले।
उनले एसएलसी दिँदा देशभर पञ्चायत व्यवस्था विरुद्धका आन्दोलन चर्किएको थियो। गाउँकै चौरमा पञ्चायत विरुद्धको भाषण चलिरहँदा प्रहरी पुगेर भिडलाई तितरबितर पार्न रबरको गोली चलाकाएको घटना अझै उनको मानसपटलमा ताजै छ।
त्यतिबेला देशमा टेलिभिजन भन्दा पनि रेडियोको प्रभाव बढी थियो। मदनदास श्रेष्ठ लगायतको नाटक रेडियोमा बज्दा उनलाई पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्ने रहेछ। एसएलसी गरेको एक वर्षपछि काठमाडौं आएका उनले यहाँ आयुर्वेदिक अस्पतालमा काम पाए।
कामकै सिलसिलमा त्यहाँका वैद्यले मदनदास श्रेष्ठलाई चिनाइदिएपछि उनले वि.सं. २०४८ सालबाट रेडियो नेपालमा अभिनय गर्न पाए। त्यतिबेला अभिनयको तहअनुसारको पारिश्रमिक दिइने गरेको र आफूले दुई सय रुपैयाँ पाएको कार्कीले सुनाए।
पञ्चायती व्यवस्थादेखि रेडियो नेपालको नाटक अनुभवदेखि टेलिश्रृंखला र फिल्म क्षेत्रको समग्र अवस्था उनको कलाकारिता जीवनको अनुभव रोहितले उकेराको नियमित स्तम्भ हिजोका कुरामा यसरी साटेका छन्।
बाल्यकाल
मैले थाहा पाउँदामा पञ्चायत गाउँपालिका भन्थेँ। पछि चाहिँ पाङ्ग्रेटार गाविस वडा-९ कोठे भएको थियो। अहिले सुनकोशी गाउँपालिका पर्छ। मान्छेहरूले पञ्चायतकालमा पढ्न पाइँदैन भनेको सुन्थेँ। तर, मैले थाहा पाउँदा कसैले पढ्न नहुने भन्ने कुरै थिएन।
हामी त ३२/३३ सालतिर स्कुलमा केटाकेटी सराबरी हुन्थ्यौँ। ४० कार्की परिवारमा अधिकांशले छोराछोरीलाई पढाउनुपर्छ भन्थेँ। त्यहि भएर होला हामी दुई दाजुभाइ र एक दिदीलाई बुवाआमाले पढाउनुभयो। पढ्न मन नहुनेहरूले अब अहिले पनि त पढ्दैनन् नि!
मैले थाहा पाउँदा इन्द्रबहादुर कार्की प्रधानपञ्च हुनुहुन्थ्यो भने उपप्रधानपञ्च मेरो काका पृथ्वी बहादुर कार्की। अहिले त दुवै जना हुनुहुन्न। उहाँहरूले त्यो ठाउँमा २५ वर्षसम्म प्रधानपञ्च र उपप्रधानपञ्च भएर गाउँपालिका चलाउनुभएको थियो।
उहाँहरूले कहिल्यै पनि कसैलाई हेप्ने खाल्का कामहरू गरेको मैले देखिनँ। तल्लो जात, माथिल्लो जात भनेर कुनै विभेद गरेको थाहा छैन। सबैलाई समान व्यवहार गरेको देखेँ। त्यतिबेलाको प्रधानपञ्च र उपप्रधानपञ्चको अगुवाइमा वि.सं. २०१० सालमा जाल्पा स्कुल स्थापना भएको हो। त्यो अहिले गाउँकै पुरानो स्कुलमा गनिन्छ।
त्यतिबेला सुनकोशी नदीमा पुल थिएन। एउटा फलेक राखेको हुन्थ्यो। त्यहिबाट मान्छेले वारीपारी गर्थे। गाईवस्तुहरू पनि त्यहि फलेकबाट वारपार गराउनुपर्ने बाध्यता थियो। कति गाईवस्तु र मान्छेहरू फलेकबाट खसेर सुनकोशीमा खसेका छन्। पछि २०३५ सालतिर पक्का पुल बनेपछि बल्ल सहज भएको हो। हामीलाई भन्दा पनि अरु गाउँकालाई समस्या थियो।
अहिलेका जितु नेपालहरूको गाउँ पल्लो हो। उनी म भन्दा जुनियर विद्यार्थी थिए। जितु र मैले एउटै स्कुल पढेको हो। त्यहाँ पढ्न आउनका लागि जितुहरूलाई गाह्रो थियो। ३५ सालमा पुल बनेपछि मात्र हो सहज भएको।
नाचगान हेर्दा जाँदा बन्दुक पड्कियो
पञ्चायत व्यवस्था विरुद्धको आन्दोलन चलिरहेको थियो। हाम्रो गाउँमा एउटा लामसाङ बसन्तपुर भन्ने ठाउँमा ठूलो चौर थियो। त्यो चौरमा नाचगान हुन्छ नेताहरू पनि आउँछन् भन्नेर गाउँभरि हल्ला थियो। म पनि नाचगान भनेपछि उत्साहित हुँदै गए। त्यहाँ नेताहरूले भाषण गरिरहेका थिए। नेताहरू को-को थिए, मलाई त्यति याद छैन। तर भिड ठूलै थियो।
नाचगान र भाषण चलिरहेको बेला एक्कासी प्रहरी आइपुग्यो। प्रहरी आएपछि त्यहाँ भागदौड भयो। प्रहरीले नेताहरूले भाषण गरेको ठाउँतिर बन्दुक पड्कायो। बन्दुक पड्केपछि दौडेर घर फर्किए। त्यतिबेला कोही म¥यो होला भन्ने लागेको थियो। त्यस्तो हानाहान र भागदौड मच्चिएको थियो। तर, प्रहरीले रबरको गोली हानेको रैछ। त्यो पनि निकै पछि मात्र थाहा पाइयो।
वैद्य बाले मदनदासलाई चिनाएपछि फ्याट्टै रेडियो नेपालमा
हाम्रो परिवारबाट कलाकारितामा आएको कोही पनि छैनन्। कोही चिने जानेको कोही पनि थिएनन्। कार्की परिवारबाट कलाकारितामा लागेको म र मेरो भतिजी श्रृषा कार्की हो। भतिजीको त्यस्तै भइहाल्यो।म भने यहि लाइनमै छु।
३० वर्षअघि कलाकारितामा आउन निकै गाह्रो थियो। हामीलाई मार्गनिर्देशन गर्ने पनि कोही भएनन्। काठमाडौं आएपछि यहाँ टिक्नको लागि म एउटा आयुर्वेदमा काम गर्थेँ। त्यतिबेला मदनदास श्रेष्ठको रेडियो नेपालमा नाटक गर्नुहुन्थ्यो। डिल्लीबजारमा रहेको म काम गर्ने सम फर्मामा बेला-बेलामा आउनुहुन्थ्यो।
एक दिन वैद्य बाले मलाई आयुर्वेदको क्लिनिक भित्र बोलाउनुभयो। भित्र जाँदा उहाँले मदनदासलाई चिनाइदिनुभयो। चिनेपछि मदनदास श्रेष्ठले मलाई अर्को हप्ता रेडियो नेपाल बोलाउनुभयो। पहिलो पटक मैले ४८ सालमा रेडियोमा नाटकमा अभिनय गर्ने मौका पाए।
त्यतिबेला रेडियो नाटकमा अभिनय गरेको दुई सय रुपैयाँ पारिश्रमिक पाएँ। त्यतिबेला रेडियो नेपालमा कलाकारलाई अभिनय अनुसारकाे पारिश्रमिक दिइन्थ्यो। बाँकी समय म आयुर्वेदमा बिताउँथे। त्यतिबेला महिनाको ८ सय रुपैयाँ नाटकबाट आउँथ्यो। बाँकी समय म यता जागिरबाट पैसा कमाउँथे। डेराभाडा पाँचदेखि सात सय रुपैयाँको हाराहारीमा थियो।
रेडियो नाटकमा काम गरिरहँदा नेपाल टेलिभिजनबाट हास्यटेलिश्रृंखला ‘हिजो आजको कुरा’ प्रसारण हुन्थ्यो। रेडियोमा नाटकमा काम गरिरहेको बेला मैले सन्तोष पन्तलाई भेट्न उहाँको घरमा पुगेँ। उहाँले के गर्छौ भनेर सोध्नुभयो। मैले रेडियो नेपालमा नाटकमा काम गरेको सुनाएँ।
त्यसपछि उहाँले ‘हुन्छ नि!’ भनेर मलाई सानोतिनो भूमिकामा अभिनय गराउनुभयो। त्यतिबेला सानोतिनो भूमिकामा अभिनय गर्नु पनि ठूलो कुरा हुन्थ्यो। त्यसपछि थुप्रै नाटक, सडक नाटक र नयाँ-नयाँ आएका टेलिफिल्म ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ लगायतमा काम गर्ने मौका पाएँ।
जागिरका लागि बुवाले कर गर्नुभएन
४४ सालमा एसएलसी दिएपछि जागिर खानुपर्छ भन्ने धेरैको कुरा हुन्थ्यो। तर, मलाई कलाकार बन्ने हुटहुटी चलेको थियो।
बुवाआमाको सुरुवाती चाहना कतै जागिर खाएर अल्झिए हुन्थ्यो भन्ने रैछ। तर, रेडियोमा नाटक खेल्न थालेपछि र छरछिमेकीले मेरो चर्चा गरेपछि छोरो गतिलै बाटोमा लागेको त होला नि भन्ने भएछ। त्यहि भएर होला मलाई बुबा आमाबाट कहिल्यै कलाकारितामा रोकतोक भएन।
बुबाले मेरो काठमाडौंको संघर्ष देख्नु भएन। सुरुवातको समयमा काठमाडौंमा टिक्नै मुस्किल थियो। जागिर जेनतेन चले पनि नयाँ आएका सिरियलहरूबाट खर्च पाइँदैनथ्यो। अवसर पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। त्यहि अवसरका खोजीमा भौतारिँदा भौतारिँदा अहिले ठिकै गरिएछ भन्ने अवस्थामा छु।
यो फिल्डमा धेरै प्रकारमा मानिसहरू भेटेको छु। नियमित पैसा दिनेदेखि कहिल्यै पैसा नदिनेसम्म। कोही-कोही निर्देशकहरूले पुरानो बसपार्कमा भेटौँ भनेर बोलाएर दिनभर भेट्न नआउने गर्थे अनि दिनभर फोन अफ गरेर बस्थे।
त्यतिबेला कुनै निर्माता र निर्देशकले भेट्न बोलाउँदा काम पाइने भइयो भनेर एकदमै हर्ष लाग्थ्यो। अझ नाम चलेका कलाकारहरूसँग सिरियलमा खेल्न पाउँदा त दिनभरको तनाव बिर्साउँथ्यो।
त्यतिबेला सिरियल एकदमै थोरैले मात्र निर्माण गर्थे। अभिनयको चाहना राख्ने धेरै थिए। अहिलेको जस्तो युट्युब प्लेटफर्म थिएन। अहिलेका कलाकारहरूले त्यतिबेलाको जस्तो दुःख गरेका छन् र! त्यहि दुःखले होला अहिले नाम चलेका प्रोजेक्टहरूमा काम गर्न पाइरहेको छु। सोचे अनुसारको चर्चामा नभए पनि काम पाइरहेकै छु, खुसी नै छु।
असार ६, २०८१ बिहीबार १४:५७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।