एमाले सांसद् भीम आचार्यको गम्भीर आरोप- क्यान नेतृत्व नै नेपाललाई हराउन लागिपर्यो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वबाट गलत काम भइरहेको भन्दै त्यसलाई रोन सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद् भीमप्रसाद आचार्यले क्यानको नेतृत्वले अवैध रुपमा चन्दा उठाएर क्यानको खातामा नराखेको, आईसीसीले दिने सहुलियतमाको टिकट बेचेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका हुन्।
सांसद् आचार्यले क्यानले बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेकाले भिसा नपाएको तर्क गरेका छन्।
१० जनाको टोलीमा एक जना डाक्टर अनिवार्य राख्नुपर्नेमा डाक्टरलाई कटाएर एक जना सामान्य महिलालाई राखेर पठाएपछि आईसीसीले त्यसलाई अस्वीकार गरेको उनको भनाइ छ।
होटलमा खेलाडीलाई उभ्याएर चन्दा उठाएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरुलाई महंगोमा बिक्री गरेको, खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको गुनासो आएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली टोलीले प्राप्त गरेको चार सय टिकट र भीआईपी पासलाई पनि बिक्री गरेको उनको आरोप छ। क्यानको नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन हैन हराउन भूमिका खेलिरहेको, खेलाडीहरुलाई शिर निहुर्याएर हिड्नुपर्ने बनाएको खेलाडीहरुको गुनासो भएको समेत उल्लेख गरे।
केही दिनअघि प्रधानमन्त्री कार्यालयको लेटरप्याड दुरुपयोग गरेर विश्वकप हेर्न अमेरिका पठाइदिने भन्दै मानवतस्करीको कोसिस गरिएको कुरा प्रधानमन्त्रीको कार्यालयले रोकेको थियो।
आईसीसी टी२० प्रतियोगितामा नेपाललाई हराउन गरिरहेको षडयन्त्र, आर्थिक अनियमितता र देशकै शिर निहुर्याउने गलत क्रियाकलापको विषयमा निश्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानबिन गर्न उनको माग छ।
जेठ ३०, २०८१ बुधबार ११:४८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।