अदालतबाट धरौटीमा छुट्ने र फेरि पुरानै पेसामा फर्किने गरेका श्रेष्ठ चोरीको कसुरमा २१ पटक पक्राउ

अदालतबाट धरौटीमा छुट्ने र फेरि पुरानै पेसामा फर्किने गरेका श्रेष्ठ चोरीको कसुरमा २१ पटक पक्राउ

काठमाडौं : चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय वीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुले ललितपुर महानगरपालिका–१८ ढुंगेधारास्थित सिर्जना वैद्यको घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको आरोप छ। वैद्यको घरमा गत जेठ २ गते दिउँसोकै समयमा घरमा कोही नभएका बेला चोरी भएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए।

प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन बरामद गरेको छ।

उनीहरूमाथि अनुसन्धान गर्दै जाँदा पक्राउ वीरबहादुर श्रेष्ठ यसअघि चोरीकै आरोपमा २० पटक पक्राउ परेको खुलेको छ। यो उनको २१ पटक हो। 

उनी चोरीको आरोपमा पटकपटक पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्ने र फेरि पुरानै पेसामा फर्किने गरेको खुलेको प्रहरीले जनाएको छ। 

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

जेठ २९, २०८१ मंगलबार २१:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।