यो गएपछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्नेहरूले न्युरोडलाई लथालिङ्ग बनाउन खोजे : बालेन
 
                    
                    
                    
                    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले न्युरोडको सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।
उनले पहिले पार्किङ गर्ने ठाउँमा फुटपाथ बढाउँदा सडक कसरी साँघुरो भयो भन्दै प्रश्नसमेत गरे।
‘सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर, त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?’, शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरे।
उनले सडक विभागलाई आफैँले बनाएको मापदण्ड हेर्नसमेत भनेका छन्।
‘दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला। त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला’, शाहले अगाडि थपेका छन्।
उनले लेखेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ।’
महानगरले न्युरोडमा फुटपाथ बढाउन सडक खनेपछि सडक विभागले तत्काल सडक कायम गर्न निर्देशन दिएको थियो। त्यसको जवाफमा शाहले यस्तो बताएका हुन्।
केहि दिनअघि मात्र महानगरले सडक विभागको कार्यालयअघि एक ट्रक थुलो खन्याएको थियो।
जेठ १८, २०८१ शुक्रबार १२:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    