टीकापुर जग्गा किर्ते अनुसन्धान गर्न सिआइबीले फिल्डमा डिएसपी खटायो

काठमाडौँ : कैलाली टीकापुर नगर विकास समितिको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डिएसपीको कमान्डमा टोली खटाएको छ।
सरकारी कागजात किर्तेमा अनुसन्धान गरिरहेको ब्युरोले स्थलगत अनुसन्धानका लागि टोली टिकापुरमै खटाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको अनुसन्धान गरेको थियो। ब्युरोले सरकारी कागजातको किर्तेमा अनुसन्धान गरिरहेको छ। अख्तियारले जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ।
टीकापुर नगरपालिका– १ टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको दाबी गर्दै अख्तियारले कैलालीको नगर विकास समितिका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारको अनुसन्धानमा समितिको पुरानो मितिका नक्कली घडेरी प्रमाणित पत्र, रकम बुझाएको रसिदलगायतका कागज बनाएर किर्ते गरी जग्गा हिनामिना गरेको खुलेको थियो। त्यसैको आधारमा अख्तियारले ब्युरोलाई किर्तेमा अनुसन्धान गर्न भनेको थियो।
सिआइबीले अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमा पुरानो मितिका कागजातसँग मिल्दोजुल्दो समितिको घडेरी प्रमाणित गरेको पत्र, रकम बुझाएको रसिदलगायतका नक्कली कागजात खडागरी, रकम बुझाएका भनिएका रसिदका क्रमसङ्ख्याको सुरु अङ्क केरमेट गरेर किर्ते कागजात खडा गरेर समितिको जग्गा व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा समितिको जग्गा वितरण गरेको’ उल्लेख छ।
जेठ ८, २०८१ मंगलबार ०९:२२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।