संसद् भवनमा खुसी साट्न नपाएका ओली सिंहदरबारमा, प्रचण्ड भेटेर दिए बधाई

संसद् भवनमा खुसी साट्न नपाएका ओली सिंहदरबारमा, प्रचण्ड भेटेर दिए बधाई

काठमाडौँ : प्रतिपक्षी दलका सांसदहरूलाई मर्यादापालक लगाएर संसद्को बेलमा घेराबन्दीमा पारेर विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगे।

सोमबार प्रधानमन्त्री प्रचण्डले चौथो पटक सांसदबाट विश्वासको मत लिने कार्यसूची रहे पनि सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरू संसद्को बेलमा उत्रिएका थिए।

उनीहरू विरोधमा उत्रिएर नाराबाजी सुरु गरे पनि सभामुख देवराज घिमिरेले मर्यादापालक लगाएर सांसदहरूलाई घेराबन्दीमा राखेर विश्वासको मतको प्रक्रिया पुरा गरे। प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएर सरकार जोगाए।

हतार हतार सभामुखले संसद् स्थगित गरेर मङ्गलवारसम्म सारेर बाहिरिएपछि सत्ता घटकका सांसदहरूले संसद् भवनमा खुसी साटासाट गर्न पाएका थिए। विश्वासको मत पाएकोमा खुसी साट्न एमाले अध्यक्ष ओली आफैँ प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रचण्डलाई बधाई दिए।

आफूले विश्वासको मत लिन लाग्दा अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसलाई आफूले पटक-पटक साथ दिए पनि अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। इतिहासमा ठुलो मूल्य चुकाउनुपर्ने चुनौती समेत दिएका थिए उनले।

नेपाली कांग्रेसले संसद् सकिएपछि पत्रकार सम्मेलन गरेर प्रचण्डको धम्कीको जवाफ दिँदै जङ्गलबाट शान्तिपूर्ण राजनीतिमा कांग्रेसले ल्याएको हैन भन्दै प्रतिप्रश्न गरेको थियो।

‘तपाईँलाई जङ्गलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभयो,’ पत्रकार सम्मेलनमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले भने’ हतियारको बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो!’

जेठ ७, २०८१ सोमबार १६:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।