प्रधानमन्त्री प्रचण्डलाई को-कसले दिए विश्वासको मत?

प्रधानमन्त्री प्रचण्डलाई को-कसले दिए विश्वासको मत?

काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिने प्रक्रिया सुखद हुन सकेन। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न देखिएकोबारे संसदीय समिति गठनको माग बेवास्ता गर्दै उनले सोमबार विश्वासको मत लिने प्रयास गर्दा प्रतिपक्षी दलका सांसदहरू संसद्को बेलमै मर्यादापालकहरुको घेराउमा परे।

संसद्को बेलमा उभिएर नाराबाजी गरिरहेका प्रतिपक्षी दलका सांसदहरूले अवरोध गर्लान् भनेर मर्यादापालकहरुले उनीहरूलाई चारैतिरबाट घेरेर बिचमा पारेका थिए। सत्तापक्षको बेन्चतिर अनि रोस्टमतिर समेत जानै नसक्ने गरी प्रतिपक्षी दलका सांसदहरू चेपिए पनि नाराबाजी भने गरिरहेका थिए।

नाराबाजीकैबीचमा प्रधानमन्त्रीले विश्वासको मत मागे। एमाले सांसद विष्णु पौडेलले प्रचण्डलाई समर्थन गर्ने सबै दलको प्रतिनिधित्व गर्दै आफ्नो धारणा राख्दै विश्वासको मत दिने बताए। विश्वासको मत नदिने पार्टीका सांसदहरू मर्यादा पालकको घेराउमा रहेकाले उनीहरू जान पाएनन्।

नाराबाजी जारी रहेकैबेलामा प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ दिने संसद्को कार्यसूचीमा औपचारिकता निभाउँदै नेपाली काङ्ग्रेसप्रति आक्रोश पोखे। सभामुखले पक्ष अनि विपक्षमा मत विभाजन गराए। अन्तमा उपस्थित १५८ मध्ये एक सय ५७ मत विश्वासको मतको पक्षमा अनि एक मत तटस्थ परेको घोषणा गरे।

चौथो पटक विश्वासको मत पाएकोमा प्रधानमन्त्रीले सदनमा औपचारिक बधाई पाएनन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हाँस्दै सदनबाट बाहिरिए।

को-कसले दियो विश्वासको मत?

प्रचण्डलाई चौथो पटक विश्वासको मत दिनेहरूमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र तीन स्वतन्त्र पार्टी देखिए।

एमालेका ७६ सांसदले प्रचण्डलाई विश्वासको मत दिए। माओवादीका ३२ सांसदले विश्वासको मत दिए। रास्वपाका २१, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी अशोक राई समूहको ७, नागरिक उन्मुक्तिको ३ सँगै स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि पक्षमा मतदान गरे।

यस अगाडि विपक्षमा उभिएको जनमत पार्टी यस पटक प्रचण्डको पक्षमा उभिँदै ६ जनाले नै पक्षमा मतदान गरे।

जेठ ७, २०८१ सोमबार १४:१५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।