युवतीलाई आँखा झिम्क्याएको विवादमा प्रहरी जवानको हत्या

युवतीलाई आँखा झिम्क्याएको विवादमा प्रहरी जवानको हत्या

काठमाडौँ : सँगै खाजा खाने क्रममा नजिकै रहेकी युवतीलाई आँखा झिम्क्याएको विवादमा प्रहरी जवान युवराज घिमिरेको हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ। घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गर्दै प्रहरीले आँखा झिम्क्याएको विवादमा अन्धाधुन्ध हतियारले हानेर हत्या गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।

प्रहरीले हत्या आरोपमा सचिन परियार, अञ्जली श्रेष्ठ, वसुन्धरा कार्की , नुनमाया कार्की , २१ वर्षीय बुद्ध तामाङ, अमृत तामाङ र एक जना १३ वर्षका एक नाबालक छन्।

ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत खोटाङको मजुवागढी गाउँपालिका–१ का घिमिरे को शव शङ्कास्पद अवस्थामा शुक्रवार फेला परेको थियो।  काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा उनको शव फेला परेको थियो।

रजौरेका अनुसार सो दिनको ड्युटी सकिएपछि घिमिरे मनमैजुमा पुगेर खाजा खाने क्रममा सचिन र अञ्जली पनि सोही होटेलमा आएको, सचिन र घिमिरेबीच पुरानै सम्बन्ध रहेकाले एकै टेबलमा बसेर खाजा खाएको खुलेको उनले बताए।

त्यसपछि सचिनले अञ्जलीको स्वास्थ्य बिग्रिएको भन्दै तीन जना मोटरसाइकलमा घटनास्थलमा रहेको निर्माणाधीन रहेको घरमा पुग्दा त्यहाँ रहेका अन्यहरूले समेत जे भेटिन्छ त्यसैले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानकोक्रममा घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भनेर खाजा खाने ठाउँमै विवाद भएको थियो। त्यसैको रिसइबीमा घिमिरेलाई सचिनले  आफ्नो समूहले आश्रय लिँदै आएको स्थानमा लगेर हत्या गरेर शव अर्को स्थानमा लगेर लुकाएर राखेको रजौरेले बताए। उनले घिमिरेको हत्याको कारण लुटपाट अनि महिलासँगको विवाद देखिएको जानकारी दिए।  

जेठ ६, २०८१ आइतबार १४:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।